काँक्रेविहार पुनःनिर्माण अधुरै, सर्वसाधारणमा बढ्यो चिन्ता

सुर्खेत । सुर्खेतको ऐतिहासिक प्रसिद्ध पर्यटकीय क्षेत्र काँक्रेविहारको पुनःनिर्माणको काममा ढिलाई भएको छ ।
तोकिएको समयमा काम सम्पन्न नभएपछि म्याद थप गर्दासमेत काँक्रेविहार मन्दिर पुनःनिर्माणको काम अधुरो रहँदा सर्वसाधारण चिन्तित छन् ।
पुरातत्व विभागले काँक्रेविहार पुनःनिर्माणका लागि तीन वर्ष्भित्रै काम सम्पन्न गर्ने गरि वि.सं.२०७२ सालमा काठमाडौंको सिद्धबाबा कन्स्ट्रक्सन प्रा.लि.लाई करीब रू.१० करोडमा ठेक्का दिएको थियो ।
विभिन्न बाहनामा ठेकेदारको लापरवाहीले पुनःनिर्माणको काममा ढिलाई भएको हो । ठेकेदार, स्थानीय जनप्रतिनिधिसँगै प्रदेश सरकारले चाँसो नदिएकोले तीन वर्षमा निर्माण सक्नुपर्ने भए पनि पुनःनिर्माणको काम सुस्त गतिमा छ ।
पुरातात्विक महत्वको काँक्रेविहारमा दैनिक सरदर २००को हाराहारीमा आन्तरिक तथा बाह्यि पर्यटकले अवलोकन गर्ने गरेका छन् ।
काँक्रेविहारमा पिउने पानी, शौचालय जस्ता अपरिहार्य भौतिक पूर्वाधार नहुँदा घुम्ने आउने पर्यटकलाई खुलारुपमै शौच गर्नुपर्ने बाध्यता छ ।
यसतर्फ स्थानीय तहका जनप्रतिनिधिलेसमेत ध्यान नदिएको लाटिकोइलीका नर्वु गुरुङले बताए । उनले काँक्रेविहारको टिकट शुल्कबाटै उठेको रू.५०र६० हजारमै स्तरीय शौचालय बनाउने सकिने भएपनि जनप्रतिनिधिले यसतर्फ चासो नदिएको बताए ।
स्थानीय शिवनगर टोल विकास संस्थाका अध्यक्ष राजु केसीका अनुसार,पुनःनिर्माणको काम जुन गतिमा काम हुनुपर्ने हो, त्यो गतिमा भएको छैन् । पुनःनिर्माणको काममा ढिलाई हुँदा पर्यटकलाई समेत असर गरेको उनले बताए । पिउने पानी, शौचालय जस्ता आधारभूत आवश्यकतालाई स्थानीय जनप्रतिनिधिले आफ्नै पहलमा हल गर्न सक्छन्,’ स्थानीय समाजसेवी मदनबहादुर खड्काले भने, ‘काँक्रेविहार घुम्न आउने सर्वसाधारणले भोग्नु परेका सामान्य तर आवश्यक हुने भएकाले यसतर्फ जनप्रतिनिधि गैरजिम्मेवार बन्नु हुँदैन ।’
उनले ऐतिहासिक काँक्रेविहार पुनःनिर्माणमा स्थानीय चुकेकै कारण तोकिएको समयमा पुरा हुन नसकेको जिकिर गरे ।
पश्चिम नेपालकै ऐतिहासिक तथा धार्मिक पर्यटकीय गन्तव्यको रुपमा रहेको काँक्रेविहारको पुनःनिर्माणको काम तोकिएकै अवधिमा पुरा गराउन अब प्रदेश र केन्द्र सरकारले ध्यान दिनुपर्ने उनको भनाई छ ।
यता वीरेन्द्रनगर नगरपालिका नौ नम्वर वडा अध्यक्ष सुरेश मानन्धरले ठेकेदारले पुनःनिर्माणकोे महत्वपूर्ण कामहरु पुरा गरिसकेकाले जेठ मसान्त भित्र सम्पन्न हुनेमा आफु विश्वस्त रहेको बताए ।
उनका अनुसार यसै वर्ष नगरपालिकाले काँक्रेविहारमा व्यवस्थित् पिउने पानी र शौचालय निर्माणका लागि रू.१६ लाख विनियोजन गरेको छ ।
किम्वदन्ती अनुसार पाँचपाण्डवको वासस्थान मानिने काँक्रेविहारमा बुद्ध, सरस्वती, विष्णु, पद्म, शंख र रथका पांग्रालगायत विभिन्न मुर्तिहरु रहेका छन् ।
उक्त मुर्तिहरुलाई थप कुदेंर आकर्षक शिखर शैलीको रुप दिन लागिएको छ । सिन्जा साम्राज्यका राजा अशोक मल्लले बनाएको मानिने काँक्रेविहार वि.सं. १८९० को भूकम्पले भत्किएको थियो ।

(अभियान डटकम डटएनपी बाट साभार)

तपाईको प्रतिक्रिया