सुर्खेत ।
मंगलबार बिहान टिपरको ठक्करबाट कालिकोट महावै गाउँपालिका–३ सिमखेत घर भएका २० वर्षीय केशर सिंहको टिप्परले किच्दा घटना स्थलमै ज्यान गए पछि मृतकका आफन्तहरुले गरेको आन्दोलनले वीरेन्द्रनगर तानवपूर्ण बनेको छ ।
मृतकका आफन्तहरुले गरेको आन्दोलन उग्र बन्दै गएपछि वीरेन्द्रनगरमा कर्फ्यू लगाइएको छ।
आफन्तहरुले गरेको प्रदर्शन नियन्त्रण बाहिर गएको भन्दै जिल्ला प्रशासनले मंगलबार बेलुकी साढे ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो।
भे १ प २१७८ नम्बरको मोटरसाइकलमा सवार मृतक सिंहलाई भे १ ख २२४२ नम्बरको टिपरले किचेको हो। घटनापछि वीरेन्द्रनगर तनावपूर्ण बनेको छ। आफन्तहरुले घटनाको विरोधमा सडकमा टायर बालेर प्रदर्शन गर्दै बजार समेत बन्द गराएका छन्। सवारी साधन संचालनमा समेत प्रदर्शनकारीले अवरोध गरेका छन्।
प्रदर्शनका कारण सवारी साधन चल्न सकेका छैनन्। प्रदर्शन नरोकिएको र तोडफोड हुन थालेपछि जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यू लगाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जानकारी दिए।
उनका अनुसार स्थितिलाई नियन्त्रणमा लिन कर्फ्यू लगाएएको हो। प्रशासनका अनुसार वीरेन्द्रनगरको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको ५ सय मिटर क्षेत्रसम्म कर्फ्यू लगाएको छ।
चालकको लापरबाहीले घटना भएको भन्दै स्थानीयले कडा कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका हुन्। प्रहरीले सडकबाट लास उठाएपछि अवस्था थप तनावपूर्ण बनेको हो। सोहीक्रममा दोहोरा झडप भएको थियो । अश्रुग्यास प्रहार गर्दा पनि अवस्था नियन्त्रणमा नआएपछि प्रहरीले गोली चलाएको छ।
गोली लागेर एक दर्जनभन्दा बढी स्थानीय घाइते भएका छन्। अवस्था तनावपूर्ण बनेपछि नेपालगंजबाट समेत सुरक्षाकर्मी ल्याइएको छ। टिपरले मोटरसाइकललाई ठक्कर दिएपछि सिंहलाई करिब २० मिटर टाढासम्म घिसार्दै लिएको प्रत्यक्ष दर्शीले जनाएका छन्।



दर्शन खबर । १४ माघ २०७६, मंगलवार