यी राजमार्गमा राति सवारी चलाउन रोक, कुन सडकमा कति बजेदेखि ?

काठमाडौं । भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै नेपाल प्रहरीले विभिन्न राजमार्गमा रात्रिकालीन सवारी आवागमनमा रोक लगाएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार असोज ९ देखि ११ गतेसम्म विभिन्न स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहेकाले सम्भावित जोखिम न्यूनीकरणका लागि रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको हो।

पृथ्वीराजमार्गमा आज बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा रोक लगाइएको छ।

त्यस्तै, सिद्धिचरण लोकमार्गमा आजदेखि असोज १२ गतेसम्म बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म अत्यावश्यकबाहेकका सम्पूर्ण सवारीसाधन तथा पैदलयात्रीको आवागमनमा रोक लगाइएको प्रहरीले जनाएको छ।

मकवानपुरको कान्ति राजमार्ग तथा भैँसे–भीमफेदी–देउराली–कुलेखानी हुँदै काठमाडौं आउने सडकमा बेलुका ७ बजेदेखि सवारी आवागमन रोक लगाइएको छ।

यसैगरी बीपी राजमार्गमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म र नारायणगढ–मुग्लिन सडकखण्डमा आज बेलुका ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरीले मौसमको अवस्था र सडकको जोखिमलाई ध्यानमा राख्दै यात्रु तथा सवारी चालकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।


तपाईको प्रतिक्रिया