सुर्खेत । नेपाली कांग्रेसको महाधिवेशनलाई लक्षित गर्दै देउवा पक्षले सुर्खेतमा गतिविधि बढाएसँगै नेता–कार्यकर्ताको चहलपहल बाक्लिएको छ।
देउवा पक्षले कर्णालीसहित देशभरका जिल्लामा महाधिवेशन तयारीका लागि केन्द्रीय प्रतिनिधि खटाएपछि सुर्खेतमा पनि संगठन परिचालन तथा अधिवेशन तयारी तीव्र पारिएको हो। देउवा पक्षले असोज १५ गतेदेखि वडा अधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ।
सुर्खेतमा जिल्ला संयोजकको जिम्मेवारी ललित भट्टराईलाई दिइएको तथा केन्द्रीय प्रतिनिधिको जिम्मेवारी महेन्द्र शाहीले पाएको बताइएको छ। जिम्मेवारी पाएसँगै शाहीसहित देउवा पक्षका नेता–कार्यकर्ता सुर्खेतमा सक्रिय भएका छन्।
मंगलबार सुर्खेतमा देउवा पक्षले भेला आयोजना गर्ने तयारी गरेको छ। वडा तहमा निर्वाचन समिति गठन तथा अधिवेशनका लागि आवश्यक तयारी अघि बढाइएको केन्द्रीय प्रतिनिधि शाहीले बताउनुभयो।
उहाँका अनुसार असोज १५ गते हुने वडा अधिवेशनलाई लक्षित गर्दै सुर्खेतका विभिन्न वडामा निर्वाचन समिति गठनलगायतका काम अघि बढाइएको छ। क्रियाशील सदस्यलाई निर्वाचन प्रक्रियामा सहभागी गराउने तयारीसमेत भइरहेको उहाँले बताउनुभयो।
कर्णालीका अन्य जिल्लामा समेत कांग्रेसको अधिवेशनलाई लक्षित गर्दै गतिविधि बढेको छ। देउवा पक्षले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएर अधिवेशनको तयारी अघि बढाएको जनाएको छ।
सुर्खेत कांग्रेसमा विभिन्न समूहका नेता–कार्यकर्ताको सक्रियताले आगामी अधिवेशनलाई लिएर आन्तरिक प्रतिस्पर्धा र नयाँ समीकरणको सम्भावनासमेत बढाएको नेताहरूको भनाइ छ। यसअघि फरक समूहमा रहेका केही नेता–कार्यकर्ता पछिल्लो समय संस्थापन पक्षको अधिवेशन प्रक्रियामा सहभागी भएका छन्। कर्णालीका विभिन्न जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको विवरणसमेत सार्वजनिक भएका छन्।



दर्शन खबर । ६ आश्विन २०८३, मंगलवार