मोटरसाइकलको टायरमा गोली हानेर लागुऔषध कारोबारी पक्राउ

नेपालगन्ज । प्रहरीले मोटरसाइकलमा भाग्दै गरेका एक भारतीय नागरिकलाई गोली चलाएर नियन्त्रणमा लिएको छ। उनको साथबाट प्रहरीले १०३.७९० ग्राम खैरो हेरोइन बरामद गरेको जनाएको छ।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो, नेपालगन्ज कार्यालयबाट खटिएको टोलीले मंगलबार राति करिब १०ः४५ बजे नेपालगन्ज उपमहानगरपालिका–१४ बाट भारततर्फबाट आउँदै गरेको मोटरसाइकलमा सवार एक जनालाई नियन्त्रणमा लिएको हो।

ब्युरोका अनुसार प्रहरीले मोटरसाइकल रोक्न संकेत गरे पनि चालकले मोटरसाइकल नरोकाई भाग्न खोजेका थिए। त्यसपछि प्रहरीले चेतावनीस्वरूप दुई राउन्ड हवाई फायर गरेको ब्युरोका सह–प्रवक्ता जीवन निरौलाले जानकारी दिए।

हवाई फायरपछि पनि मोटरसाइकल नरोकेपछि प्रहरीले त्यसको टायरमा गोली हानेको थियो। त्यसपछि मोटरसाइकल नियन्त्रणमा लिएर चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशस्थित बहराइच जिल्ला, रुपैडिया थाना, चकिया रोड ठेगाना भएका २४ वर्षीय नदीन राई रहेका छन्।

उनको साथबाट १०३.७९० ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ। राईलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको छ।

प्रहरीले उनको साथमा रहेको यूपी ४० जे ०६५७ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


तपाईको प्रतिक्रिया