छारेभीरमा पहिरो, कर्णाली करिडोर अवरुद्ध

हुम्ला । कर्णाली करिडोरअन्तर्गत हुम्लाको सर्केगाड गाउँपालिका–२, रिप नजिकैको छारेभीरमा पहिरोसँगै खसेका ठूला ढुङ्गा पन्छाउन समस्या भएको छ।

दुई ठाउँबाट पहिरो खसेपछि करिब १०० मिटर सडकमा ठूला ढुङ्गा थुप्रिएका छन्। सामान्य स्काभेटरले ढुङ्गा हटाउन नसकिने भएपछि ब्लास्टिङ गरेर फुटाउनुपर्ने अवस्था आएको हिल्सा–सिमकोट सडक आयोजनाका प्रमुख बेलबहादुर नेपालीले जानकारी दिनुभयो।

उहाँका अनुसार ड्रिल मेसिन प्रयोग गरी ब्लास्टिङको तयारी भइरहेको छ। सडक खुलाउन निरन्तर काम भइरहे पनि पूर्णरूपमा सञ्चालनमा आउन करिब एक साता लाग्ने अनुमान गरिएको छ।

सडक अवरुद्ध भएपछि यात्रुहरू जोखिम मोलेर सडकको भीरतर्फ डोरी र भर्‍याङको सहायताले वारपार गरिरहेका स्थानीय कमल बुढाले बताउनुभयो। सडक बन्द हुँदा कर्णाली करिडोर हुँदै हुम्ला आवतजावत गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका छन्।

आयोजना प्रमुख नेपालीले जोखिमपूर्ण भीरबाट आवतजावत नगर्न यात्रुलाई आग्रह गर्नुभएको छ। गत शुक्रबार दिउँसोदेखि सडक अवरुद्ध भएपछि सिमकोट हुँदै सुर्खेत–नेपालगञ्ज तथा नेपालगञ्ज हुँदै सिमकोट र कैलाश मानसरोवर जाने यात्रुहरू प्रभावित भएका छन्।


तपाईको प्रतिक्रिया