
काठमाडौँ । प्रेस काउन्सिल नेपालले निर्वाचनलाई प्रभावित पार्ने तथा मतदातालाई दिग्भ्रमित पार्ने किसिमका कुनै पनि सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण नगर्न सञ्चारमाध्यम तथा सम्बन्धित पक्षलाई आग्रह गरेको छ।
काउन्सिलको हालै बसेको बैठकले निर्वाचनजस्तो संवेदनशील विषयमा दल तथा उम्मेदवारलाई नकारात्मक असर पार्ने, मतदातालाई दिग्भ्रमित बनाउने र निष्पक्ष मतदान प्रक्रियामा असर पुग्ने किसिमका सामग्री सम्प्रेषण नगर्न आग्रह गरेको हो।
बैठकले निर्वाचनसँग सम्बन्धित विश्लेषणात्मक सामग्री सम्प्रेषण गर्दा समेत त्यसले कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रभाव पार्ने अवस्था सिर्जना नगर्न सञ्चारमाध्यमलाई सचेत गराएको छ। साथै, विदेशी सञ्चारमाध्यमबाट सम्प्रेषित निर्वाचनलाई प्रभावित पार्ने प्रकृतिका सामग्रीसमेत जस्ताको तस्तै प्रकाशन, प्रसारण वा सम्प्रेषण नगर्न काउन्सिलले आग्रह गरेको छ।
काउन्सिलका अनुसार निर्वाचनको सम्मुखमा विदेशी सञ्चारमाध्यमबाट वृत्तचित्रको नाममा निर्वाचनलाई प्रभाव पार्ने किसिमका सामग्री सम्प्रेषण भएको विषयमा समेत बैठकमा छलफल भएको थियो।
विदेशी देशबाट सञ्चालित सञ्चारमाध्यम तथा त्यसअन्तर्गतका सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्री नियमन गर्ने विषय काउन्सिलको स्पष्ट क्षेत्राधिकारभित्र पर्ने नदेखिएको भन्दै बैठकले यस विषयमा कूटनीतिक समन्वयमार्फत प्रक्रिया अगाडि बढाउन नेपाल सरकार र निर्वाचन आयोगलाई अनुरोध गर्ने निर्णय गरेको छ।
प्रेस काउन्सिलले निर्वाचनका समयमा तथ्यगत परीक्षणबिना, आधारहीन, भ्रामक वा मतदाताको निर्णयलाई प्रभावित पार्न सक्ने सामग्री सम्प्रेषण नगर्न यसअघि पनि सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गर्दै आएको छ।


दर्शन खबर । ६ आश्विन २०८३, मंगलवार