काठमाडौँ । आयुर्वेद चिकित्सा परिषद् नेपालले दर्ता नभएका औषधिको बिक्री–वितरण तथा विभिन्न रोगका नाममा भ्रामक विज्ञापन र प्रचारप्रसार नगर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ।
परिषद्ले जारी गरेको सूचनामार्फत क्यान्सर, पाइल्सलगायत विभिन्न रोग निको पार्ने दाबी गर्दै औषधिको प्रचारप्रसार गर्ने तथा जटिल रोगको उपचारमा शतप्रतिशत निको हुने, निको नभए पैसा फिर्ता गर्ने जस्ता भ्रामक दाबी गर्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण गराएको हो।
यस्ता गतिविधिले सर्वसाधारणमा भ्रम सिर्जना गर्नुका साथै स्वास्थ्यसम्बन्धी गलत सूचना फैलाउने भएकाले त्यस्ता विज्ञापन तथा प्रचारप्रसार तत्काल रोक्न परिषद्ले अनुरोध गरेको छ।
परिषद्का अनुसार कानुनविपरीत सञ्चालन भइरहेका यस्ता गतिविधि भएमा सूचना जारी भएको मितिले १५ दिनभित्र त्यस्ता कार्य बन्द गर्न वा गराउन सम्बन्धित पक्षलाई आग्रह गरिएको छ।
परिषद्ले आफ्नो सूचनाको अवज्ञा गरी गैरकानुनी तथा अवाञ्छनीय गतिविधि सञ्चालन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ।



दर्शन खबर । ६ आश्विन २०८३, मंगलवार