फरुवाले प्रहार गर्दा श्रीमतीको मृत्यु, श्रीमान् नियन्त्रणमा

सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिकामा फरुवाले टाउकोमा प्रहार गर्दा एक महिलाको मृत्यु भएको छ।

प्रहरीका अनुसार २०८३ असोज ६ गते बिहान करिब १०ः२० बजे चौकुने गाउँपालिका–५, रेक्चामा ३२ वर्षीय गोपीराम जैसीले आफ्नै श्रीमती ३० वर्षीया चन्द्रा देवकोटा जैसीलाई घरमै फरुवाले टाउकोमा प्रहार गरेका थिए।

फरुवा प्रहारबाट चन्द्राको मृत्यु भएको जानकारी चौकुने गाउँपालिका–५ का वडा सदस्य टपेन्द्र बुढा क्षेत्रीले प्रहरी चौकी विजौरामा गराएका थिए।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक बुद्धि साउँदको कमाण्डमा ४ जना प्रहरीको टोली तत्काल घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ।

त्यसैगरी घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बाबियाचौर, सुर्खेतबाट प्रहरी निरीक्षक भूपेन्द्र शाहीको कमाण्डमा SOCO सहित ७ जनाको प्रहरी टोली समेत घटनास्थलतर्फ खटिएको छ।

प्रहरीका अनुसार घटनामा संलग्न भनिएका गोपीराम जैसीलाई स्थानीयवासीले नियन्त्रणमा लिएका थिए। उनलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

घटनाको कारण र विस्तृत विवरणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


तपाईको प्रतिक्रिया