
सुर्खेत । वीरेन्द्रनगरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ७ जनालाई नगदसहित नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार २०८३ असोज ४ गते दिउँसो करिब १२ः४५ बजे वीरेन्द्रनगर नगरपालिका–११, पिपिरास्थित उमापती गौतमको घरको कोठामा जुवातास खेलिरहेको भन्ने गोप्य सूचना प्राप्त भएको थियो ।
सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी हवल्दार मिनबहादुर रावत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी सहायक निरीक्षक कृष्ण चन्दको कमाण्डमा खटिएको संयुक्त सिभिल प्रहरी टोलीले उक्त स्थानमा छापा मारेको थियो ।
प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ७ जना व्यक्तिलाई नगद रु. १ लाख ९७ हजार २ सय २० रुपैयाँ र १८ बुक ताससहित नियन्त्रणमा लिएको जनाएको छ ।
नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याएर राखिएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


दर्शन खबर । ४ आश्विन २०८३, आईतवार