हुम्लाको राया गाउँमा एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटसँग जोडिएको खार्पुनाथ गाउँपालिका–३ राया गाउँमा एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध छ । महिनादिनसम्म पनि टेलिफोन सेवा सञ्चालन हुन नसक्दा सेवाग्राही सञ्चार सुविधाबाट वञ्चित भएका छन् ।

ठानाकोटमा रहेको नेपाल टेलिकमको टावरमा समस्या हुँदा सेवा अवरुद्ध भएको र यसबाट विशेषगरी खार्पुनाथ गाउँपालिकाका चार वडाका सेवाग्राही मर्कामा परेका स्थानीय टेक बुढाले जानकारी दिनुभयो । टावर मर्मतका लागि नेपाल टेलिकम कार्यालय हुम्लालाई वडाध्यक्ष च्यागा बोहराले यसअघि नै ध्यानाकर्षण गराउनुभएको थियो ।

टेलिकमले हप्ता दिनभित्र मर्मतका लागि कर्मचारी पठाउने प्रतिबद्धता जनाए पनि अहिलेसम्म सेवा शुरु हुन सकेको छैन । नेपाल टेलिकम हुम्लाका निमित्त प्रमुख रिञ्जिन लामाले कर्मचारी अभाव र भएका कर्मचारी बिदामा रहेकाले मर्मत गर्न नसकिएको बताउनुभएको छ । अब केही दिनमै टावर मर्मत गरिने उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया