सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन् ।

प्रदेश सभाको बुधबार बसेको बैठकमा मुख्यमन्त्री शाहले दुई तिहाइ बहुमत प्रदेश सभा सदस्यबाट विश्वासको मत प्राप्त गरेका हुन् ।शाहले सभामा पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा ३६ जना प्रदेश सभा सदस्यले मतदान गरेका हुन् । ५३ सदस्यीय प्रदेश सभामा शाहलाई नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका ७ गरेर ३६ जना प्रदेश सभा सदस्यले विश्वासको मत दिए।

बैठकमा सहभागी माओवादी केन्द्रका र नेकपा एकीकृत समाजवादी पार्टीका ४/४ जना गरी ८ जना प्रदेश सभा सदस्यले विपक्षमा मतदान गरे। स्वतन्त्र प्रदेश सभा सदस्य डा ताराप्रसाद जोश भने तटस्थ बसेका छन् । बैठकमा राप्रपाकी खेमादेवी बिष्ट र माओवादी केन्द्रका ६ जना प्रदेश सभा सदस्य बैठकमा उपस्थित थिएनन् ।

सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्री शाहले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा बहुमत प्रदेश सभा सदस्यले मतदान गरेको भन्दै प्रदेश सभाबाट प्रस्ताव स्वीकृत भएको घोषणा गरे।

संघमा राजनीतिक समीकरण फेरिएर कांग्रेस र एमालेको गठबन्धन बनेपछि २० साउनमा शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए । २१ साउनमा पदभार ग्रहण गरेका शाहले सोही दिन मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए । शाहले यसअघि माओवादी, एकीकृत समाजवादीसहितको समर्थनमा १४ महिना प्रदेश सरकारको नेतृत्व गरेका थिए ।

मुख्यमन्त्रीले विश्वासको मत पाएसँगै प्रदेश सरकारले अब चाडै चालु आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया