प्रधानमन्त्री कपमा कर्णाली प्रदेशलाई ९१ रन हराउँदै एपिएफ प्लेअफमा

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले लगातार पाँचौं जित निकालेको छ । पाँचौं जित निकाल्नेक्रममा बुधबार एपिएफले कर्णाली प्रदेशलाई ९१ रनले हरायो ।

यो जितसँगै एपिएफको प्लेअफ स्थान सुरक्षित भएको छ ।

कर्णाली भने लगातार पाँच खेलमा हार बेहोरेसँगै प्लेअफ दौडबाट बाहिरिएको छ । पाँचौं खेलमा एपिएफले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको कर्णाली निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ६८ रन मात्र बनाउन सक्यो । उसका लागि तिर्सना विश्वकर्माले सर्वाधिक १९ रन जोडिन् ।

बलिङमा एपिएफकी करुणा भण्डारीले चार, सुमन विष्टले दुई तथा बिनु बुढा र सीता राना मगरले एकरएक विकेट लिए ।त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ६० रनको योगफल बनायो ।

उसका लागि राजमति ऐरीले सर्वाधिक ६७ रनको योगदान दिइन् । उनले ५५ बल खेल्दै ९ चौका र २ छक्काको मद्दतमा ६७ रन बनाइन् ।

त्यस्तै, ममता चौधरीले ६२ रन बनाइन् । उनले पनि समान ५५ बल खेल्दै आठ चौकाको मद्दतमा ६२ रन बनाएकी हुन् । रोमा थापाले अविजित १४ रन बनाइन् ।बलिङतर्फ कर्णाली प्रदेशकी तिर्सना विश्वकर्माले एक विकेट लिइन् । बुधबार नै भएको अर्को खेलमा कोशी प्रदेशले गण्डकी प्रदेशलाई ५५ रनले हरायो ।

तपाईको प्रतिक्रिया