सल्यानको दार्मामा भूकम्प पीडितका लागि २४१ अस्थायी आवास निर्माण

सल्यान। चिसोमा त्रिपालमुनि बस्दै आइरहेका दार्माका भूकम्प पीडितका लागि हालसम्म २४१ अस्थायी आवास निर्माण भएका छन्। विभिन्न राजनीतिक दल, स्थानीय र संघ संस्थाले स्वयंसेवक परिचालन गरेर अस्थायी आवास निर्माण गरेका हुन्।

माओवादी केन्द्रले ६७ अस्थायी टहरा र ४८ भग्नावशेष, नेकपाले २४ अस्थायी आवास र २३ भग्नावशेष हटाएका छन् भने स्थानीय स्वयंले १५० टहरा निर्माण गरेको दार्मा गाउँपालिका अध्यक्ष नीमबहादुर केसीले जानकारी दिए। विभिन्न राजनीतिक दल र संघ संस्थाबाट खटिएका स्वयंसेवकले १५ दिन भूकम्प पीडितको घरको भग्नावशेष हटाउने, अस्थायी टहरा निर्माणमा जुटेर फिर्ता भएको उनले बताए।

पालिकामा ४ सय स्वयंसेवक परिचालन गर्ने भए पनि माओवादी केन्द्रका १८० र नेकपाका ४५ मात्र स्वयंसेवक परिचालन भएको र अन्यको रेकर्डमा नभएको केसीले बताए।

अस्थायी घर टहरा निर्माणका लागि पहिलो किस्ताबापतको २५ हजार पीडित सबैले लगिसकेको र जनशक्तिको अभावका कारण जुन गतिमा कार्य अघि बढ्नुपर्नेमा केही कमी देखिएको प्रमुख प्रशासकीय अधिकृत रेशम ओलीले बताए। स्थानीय जनशक्तिको अभाव भएपछि जिल्लाका विभिन्न स्थानबाट पुनः स्वयंसेवक आउने तयारी भइरहेको उनको भनाइ छ।

दार्मामा भूकम्पबाट १ हजार १७९ परिवार विस्थापित भएका थिए। तीमध्ये दुई सय अस्थायी टहरा, एक सय टेन्टमा र एक सय बढी सामान्य मर्मत गरेका घरमा बस्दै आइरहेका छन् भने ५ सय परिवार त्रिपालमुनि बस्दै आइरहेका छन्।


तपाईको प्रतिक्रिया