चौरजहारीमा सर्पको टोकाइबाट एक सुत्केरी महिलाको मृत्यु

रुकुम पश्चिम ।  रुकुम पश्चिम चौरजहारीमा सर्पको टोकाई र रक्तस्रावको कारण एक सुत्केरी महिलाको मृत्यु भएको छ । चौरजहारी नगरपालिका -१३ की २२ वर्षिया विनीता विष्टको बुधवार बिहान ६ बजे मृत्यु भएको हो । मङ्गलवार दिउँसो घर नजिकै बारीमा गाईबस्तुलाई घाँस काट्ने क्रममा विष्टलाई सर्पले टोकेको थियो ।

 

सर्पले टोकेपछि उनलाई गाउँकै घरेलु उपचारले ठिक हुने भन्दै राखिएको थियो । बुधवार बिहान २ बजे नवजात शिशुको जन्म दिएकी विष्टलाई रक्तस्राव समेत भएको थियो । उनलाई उपचारको लागि बिहान ५ बजे चौरजहारी अस्पताल ल्याइएको र उपचारको क्रममा मृत्यु भएको चौरजहारी अस्पतालका प्रशासक डिल बहादुर गिरीले जानकारी दिए ।
अस्पतालका अनुसार बच्चा जन्मने समयावधि कात्तिक महिनामा रहेको थियो । समय नपुगेर जन्मेको नवजात शिशुको अहिले अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको छ । शिशुको शरीरमा पनि सर्पको विष फैलिएकोले एन्टिस्नेक भेनम मार्फत उपचार सुरु गरिएको चिकित्सकको भनाई छ ।


तपाईको प्रतिक्रिया