हुम्लालालाई राष्ट्रिय सडक सञ्जालमा जोड्न मन्त्री प्रकाश ज्वालाको निर्देशन

सुर्खेत । हुम्लाको सिमिकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने सरकारी योजनालाई यसै वर्ष पूरा गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पहल कदमी लिएका छन् । मंगलबार नेपाली सेना, मन्त्रालय र सडक विभागका उच्च अधिकारीहरूसँग मन्त्री ज्वालाले यसबारे विशेष छलफल गरेका हुन् ।
मन्त्री ज्वालाले भने ‘सरकारले हरेक वर्ष आफ्नो प्राथमिकतामा राख्छ तर सडक सिमिकोट पुग्दैन, यो वर्ष जसरी पनि सडक सञ्जालले हुम्ला सदरमुकामलाई जोड्नै पर्छ,’ ‘केही समस्या छन् भने भन्नुहोस्, समाधानको उपाय खोजौला तर सडक अपुरो भयो भन्ने छुट यसपटक हामीलाई छैन ।’

सलीसल्लादेखि सिमिकोटसम्मको ५५ किलोमिटर सडकमध्ये २.५ किलोमिटर सडक मात्र ट्रयाक ओपन गर्न बाँकी छ । ट्रयाक ओपनको काम नेपाली सेनाले गरिरहेको छ । ट्रयाक ओपनको काम केही महिनामै सक्ने नेपाली सेनाले मन्त्री ज्वालालाई विश्वास दिलाएको छ ।
लालीबगर-लेचे सडक खण्डको २.५ किलोमिटर सडक केही समयमा ट्रयाक ओपन भए पनि नियमित यातायातका साधनहरू चल्न सक्ने अबस्थामा भने छैन । ट्याक्टरहरू आवत-जावत गरे पनि ठूला र साना सवारीसाधन चल्ने अवस्थामा सडक नभएको मन्त्रालयका सहसचिव अर्जुनजंग थापाले बताए ।

 

 

‘ट्रयाक ओपन भएको तर यातायात चल्न नसक्ने अवस्थामा रहेको सडकको वाँकी काम पनि नेपाली सेनालाई सुम्पिने योजना मन्त्रालयले बनाएको छ,’ सहसचिव थापाले भने, ‘विस्फोटक पदार्थको अभावमा च्याछरा सडकको स्तर उन्तति गर्न सकिँदैन, त्यही भएर नेपाली सेनालाई जिम्मा दिने मनसाय मन्त्रालयले बनाएको हो ।’

मन्त्री ज्वालाले सडक विभागबाट यसै वर्ष गाडी चल्ने गरी सडक निर्माण गर्न नसकिने अबस्था भए नेपाली सेनालाई जिम्मा दिने बताए । ‘जसरी पनि यो वर्ष हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्नु नै छ, त्यसका लागि सडक विभागले कहाँ के गर्ने ? नेपाली सेनाले कहाँ के गर्ने ? त्यसको योजना तत्काल ल्याउनुहोस्,’ मन्त्रालयका उच्च अधिकारीहरूलाई मन्त्री ज्वालाले निर्देशन दिएका छन् ।

तपाईको प्रतिक्रिया