भेरी करिडोरको तल्लु-दुनै सडक निर्माण अलपत्र

जाजरकोट ।  जाजरकोटको भेरी करिडोरअन्तर्गत तल्लुदेखि डोल्पाको सदरमुकाम दुनैसम्म अस्थायी ट्र्याक खोलिएको सडक निर्माण अलपत्र भएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गत ६२ किलोमिटर सडक कालोपत्रका लागि स्रोत सुनिश्चित गर्न माग गरिए पनि अर्थ मन्त्रालयले सहमति नदिँदा काम रोकिएको भेरी करिडोर सडक आयोजना कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्ष नै कालोपत्रका लागि रकम माग गरिए पनि अर्थ मन्त्रालयले हालसम्म सहमति नदिएकाले निर्माण अलपत्र परेको आयोजनाका प्रमुख सुजन अधिकारीले जानकारी दिए । उनका अनुसार एक सय १८ किलोमिटर सडकमध्ये ५६ किलोमिटरमा ठेक्का भई कालोपत्रको काम जारी रहेको छ । जाजरकोटको पासागाडदेखि तल्लुसम्म कालोपत्रको काम यति विल्ड्रस प्रालिले गरिरहेको जनाउँदै उनले बाँकी ६२ किमी सडकको काम रोकिएको बताए ।

 

उक्त बजेटले जाजरकोट खलङ्गाको पासागाडदेखि तल्लुअन्तर्गत काम भइरहेको बताउँदै रकम अभावका कारण निर्माण प्रभावित भएको प्रमुख अधिकारीले भनाइ छ । तल्लुबाट त्रिपुराकोटसम्म काम सम्पन्न भए मात्रै यस सडकखण्डले पूणर्ता पाउने उनको भनाइ थियो । आव २०७९/८० मा स्रोत सुनिश्चित गरेर काम सुरु गर्ने भनिए पनि अर्थ मन्त्रालयले सहमति नदिँदा काम रोकिएको प्रमुख अधिकारीले बताए ।
यस आवमा पनि स्रोत सुनिश्चित गर्न ढिलाइ गरी काममा अवरोध गर्नु भनेको यस क्षेत्रको विकासमा बाधा पुर्‍याउने काम भइरहेको डोल्पा त्रिपुराकोटका रामचन्द्र न्यौपाने बताए। कच्ची सडक र पुल नहुँदा अहिले यस सडकखण्डमा दैनिक यात्रा गर्न सास्ती भइरहेको उनको भनाइ थियो।
यो सडक भेरी नदीको किनारै किनारमा पर्दछ। दुनैसम्म अहिले कच्ची सडक भए पनि सोभन्दा माथि उपल्लो डोल्पामा भने सडक सञ्जाल पुगेको छैन। पालिकाले आफ्नै पहलमा केही कच्ची सडक निर्माण गरेपछि साना तथा दुई पाङ्ग्रे सावारी सञ्चालन हुने गरेका स्थानीय बताउँछन्।


तपाईको प्रतिक्रिया