सुर्खेत। वीरेन्द्रनगर स्थित लाटीकोइली शिव मन्दिरलाई पुजा खर्च (हुण्डी) भनेर वि.सं. २०७३ सालसम्म आर्थिक सहायता प्राप्त हुन्थ्यो । यहाँका पुजारीहरुलाई मासिक रुपमा सात सय रुपैयाँ उपलब्ध हुन्थ्यो । तर अहिले सात वर्षदेखि शिव मन्दिरको पुजारीले पुजा खर्च नै पाएका छैनन् । लाटिकोइलीको शिव मन्दिरमा यसअघि करिव १२ वर्षसम्म पुजा खर्च उपलब्ध गराइरहेका थिए ।
मासिक सात सय रुपैयाँले वार्षिक रुपमा आठ हजार चार सय रुपैयाँ हुन्छ । मन्दिरका पुजारीका लागि यो रकम लिन काठमाडौं पुगेर आउन समेत खर्चले धान्दैन । नेपालभरका मन्दिरहरुका लागि गुठ संस्थानद्वारा उपलब्ध गराइने यो रकम हाललाई व्यवहारिक समेत देखिएको छैन ।
थोरै रकम, त्यसमा पनि रकम लिन काठमाडौं नै जानुपर्ने वाध्यतामा गुठी संस्थान्ले शिव मन्दिरका लागि जिल्ला स्थित मालपोत कार्यालयमा रकम पठाउने व्यवस्था समेत मिलाएको थियो । शिव मन्दिरका पुजारी योगीले भने, ‘त्यो रकम व्यवहारिक पनि छैन । महंगी कहाँ पुग्यो । केहि रकम मात्र लिन काठमाडौं धाउँदा खर्च धेरै हुने भएपनि पछि एकपटक मैले मालपोत कार्यालयबाट समेत रकम लिएको थिए । अहिले मालपोतमा समेत पैसा पठाएको छैन । गुठीमा सम्पर्क गर्दा मालपोतमा बुझ्नुस् भन्छन् । मालपोतमा भने पैसा आएको समेत छैन ।’ शिव मन्दिरलाई समेत संस्थानले यसअघि पठाएको सात सय रुपैयाँ व्यवहारिक नदेखिएपनि रकम बढाउन सकिने गुठि संस्थानका प्रशासक किरण शाक्य बताउँछन् ।
उनले भने ‘त्यो सात सय रुपैयाँ हालको समयम निकै न्युन रुपैयाँ हो । मन्दिरबाट माग आयो भने उक्त रकममा हेरफेर गर्न सकिन्छ’।
शिव मन्दिरलाई हालसम्म पनि पुजा खर्च नपठाएको विषयमा भने उनले अनविज्ञता जनाए । उनले भने, ‘यसवारे हामीले पनि बुझ्नुपर्छ । पहिले गएको रकम अहिले पनि मालपोत मार्फत जानुपर्ने हो । गएको छैन भने माग समेत गर्न सकिन्छ ।’
गुठी संस्थानका प्रवक्ता एवं सूचना अधिकार जनक पोखरेल भने शिव मन्दिरका विषयमा मालपोतमा बुझ्नुपर्ने बताउछन् । उनले समेत पुजा खर्च नआएको विषयमा आगामी दिनमा माग गर्न सकिने र केहि वर्ष मालपोत कार्यालयमा बजेट पठाइएको हुनसक्ने बताए । शिव मन्दिरलाई जानुपर्ने रकम हालसम्म नगएको विषयमा थप जानकारी लिने उनले बताए ।
दर्शन खबर । ११ भाद्र २०८०, सोमबार