रुकुमपश्चिममा रोपिए एक लाख बिरुवा

रुकुमपश्चिम ।  रुकुमपश्चिमका विभिन्न स्थानहरुमा एक लाखभन्दा बढी बिरुवा रोपिएका छन् । डिभिजन वन कार्यालय रुकुमपश्चिमले निःशुल्क र अनुदानमा उपलब्ध गराएका एक लाख १७ हजार ७४१ बिरुवा आर्थिक वर्ष २०७९/८० मा रोपिएका हुन् ।
कार्यालयका निमित्त वन डिभिजन प्रमुख शेरबहादुर परियारका अनुसार विभिन्न प्रजातिका सात हजार ८२३ वटा बिरुवा निःशुल्क र एक लाख नौ हजार ९१८ वटा बिरुवा अनुदान कार्यक्रम अन्तर्गतबाट रोपिएको हो । कार्यालयले सञ्चालन गरेका विभिन्न पाँच वटा कार्यक्रम अन्तर्गत कपुर, बेल, गुलमोहर, लप्सी, कल्की, सिसौ, बकाइनो, तेजपात, छतिवन, देवदार, टिमुर, सल्लोलगायत बिरुवा निःशुल्क वितरण गरेको थियो ।
जडीबुटी विकास कार्यक्रम अन्तर्गत जिल्लाभर विभिन्न २३ वटा निजी तथा सामुदायिक वन उपभोक्ता समूहले ५५ हजार ६३३ वटा बिरुवा रोपेका छन् । महिला कृषि वन कार्यक्रम अन्तर्गत नौ वटा निजी फार्मले २९ हजार सात सय वटा बिरुवा रोपेका छन् ।

 

अनुदान कार्यक्रमबाट रुकुमपश्चिममा टिमुर, दाँते ओखर, तेजपात, लौठ सल्लो, अलैँची, काउलो, चिउरी, केशर, डालेचुक, पदमचालका बिरुवा रोपिएको हो । त्यसै गरी रिठा, रोजमेरी, राइखन्यु, किम्बु, सिसौ, इपिलइपिल, कुिरल्लो, डालेघाँसलगायत बिरुवा विभिन्न स्थानमा रोपिएको बताए । अनुदान कार्यक्रम सञ्चालनका लागि गरिएको सम्झौता अनुसार अनुदानग्राहीले आफैँले बिरुवा खरिद गरेका हुन् । निःशुल्क वितरण गरिएका बिरुवा वन कार्यालयले किनेर वितरण गरेको हो । जिल्लाका विभिन्न २१ वटा स्थानमा रहेका नर्सरीले बिरुवा उत्पादन गरिरहेका छन् । ती नर्सरीमा रहेका बिरुवाले मात्र नपुगेपछि रुकुमपूर्वको चुन्वाङ र दाङ जिल्लाबाट बिरुवा खरिद गरिएको बताइएका छन् ।

तपाईको प्रतिक्रिया