सरकारी स्कुलमा बढ्दै विद्यार्थी सङ्ख्या

कालीकोट ।  कालीकोटमा पछिल्लो समय सामुदायिक विद्यालय प्रति विद्यार्थीको आकर्षण बढिरहेको छ । स्थानीय सरकारको निति र गैरसरकारी संघसंस्थाले विभिन्न सचेतना मुलक अभियान सञ्चालनसँगै सहयोग गर्न थालेपछि विद्यार्थीको आकर्षण सरकारी विद्यालयमा बढ्न थालेको हो ।
जिल्लाको बडिमालिका माध्यमिक विद्यालय स्युनामा यस शैक्षिक सत्रमा तीन सय ८४ जना थप विद्यार्थी भर्ना भएको पाइएको छ । गत शैक्षिक सत्र २०७९ मा ८१५ जना विद्यार्थी सङ्ख्या रहेको बडिमालीका माध्यमिक बिद्यालयमा यस शैक्षिक सत्रमा १ हजार १९९ जना विद्यार्थी अध्यानरत रहेका हुन् ।
मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपालले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा लागू गरेको बाल बिबाह, छिटो बिबाह र जबरजस्ती बिाबह परियोजनाले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा भर्ना गर्ने काम गरेको छ ।

 

 

बडिमालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक पुष्पराज वरालले सरकारी विद्यालयमा विद्यार्थी भर्नामा गैर सरकारी सस्थाको सहयोग राम्रो रहेको बताए । प्रअ बरालले विद्यालय बाहिर रहेका बालबालिकालाई विभिन्न सहयोग मार्फत् बिद्यालयमा भर्ना गर्न थालेपछि सरकारी विद्यालयमा विद्यार्थी बढ्न थालेका सुनाए ।
जिल्लाको नरहरिनाथ गाउँपालिका, सान्नीत्रिवेणी गाउँपालिका र रास्कोट नगरपालिका भित्रका विद्यालयमा विद्यार्थी भर्ना गर्न परियोजनाले सहयोग गरेपछि सरकारी विद्यालयमा विद्यार्थी अनुपात बढेको  हाे । नरहरिनाथ गाउँपालिका-३ को रमा माविमा पनि गत शैक्षिक सत्रभन्दा यस वर्ष ८७ जना थप विद्यार्थी भर्ना भएका छन् ।
शिक्षा विकास तथा समन्वय ईकाइ कालीकोटका प्रमुख प्रकाशचन्द्र धितालले जिल्लाका नौ स्थानीय तहका ती सय सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या वृद्धी भइरहेको बताए ।

तपाईको प्रतिक्रिया