सुर्खेत र धनगढीमा ३० बिघा जग्गा किन्दै आयल निगम

 सुर्खेत ।  कर्णाली  प्रादेशिक कार्यालय सुर्खेतको नेपाल आयल निगम र सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीको आयल निगमका लागि ३० बिघा जग्गा खरिद गर्न लागेको छ  । निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले दुवै डिपो निर्माणका लागि सरकारी जग्गा खोजी गर्न थालेका छन् । उनका अनुसार धनगढी डिपोका लागि राष्ट्रिय आवास कम्पनी लिमिटेडसँग र सुर्खेतका लागि सामुदायिक वन उपभोक्ता समितिसँग जग्गा खरिद गर्न छलफल भइरहेको छ । ‘विगतमा निजी जग्गा खरिद गर्दा विवाद उत्पन्न भएको थियो । त्यसैले यसपटक जग्गा प्राप्ति ऐन, ०३४ अनुसार सरकारी जग्गा खरिद गर्ने गरी अगाडि बढेका छौँ,’ उनले भने ।

 

 

निगमले धनगढी डिपोका लागि जग्गा किन्न उपनिर्देशक दिवाकर मल्लिकको संयोजकत्वमा अर्का उपनिर्देशक प्रदीप यादव र प्रबन्धक मोहन शाह सदस्य रहेको समिति बनाएको छ । त्यस्तै, सुर्खेतमा जग्गा किन्न उपनिर्देशक मल्लिककै संयोजकत्वमा अर्का उपनिर्देशक नकुल भण्डारी र सुर्खेत डिपो प्रमुख दिवस विष्ट सदस्य रहेको समिति बनाइएको छ । धनगढीमा २० बिघा र सुर्खेतमा १० बिघा जग्गा किन्ने निगमको तयारी रहेको छ ।
सुर्खेतमा भण्डारणगृह अत्यन्त न्यून भएको निगमको सुर्खेत डिपो प्रमुख दिवस विष्टले बताए । ‘सुर्खेतको कार्यालय सानो छ । यहाँबाट स्थानान्तरण गर्नुपर्ने आवाज पनि उठ्न थालेको छ,’ उनले भने । स्थानीय वीरेन्द्रनगर र सुर्खेत नगरपालिकाका विभिन्न पाँच स्थानमा रहेको सामुदायिक वनभित्रको जग्गा यकिन गरी खरिदका लागि सिफारिस भइसकेको विष्टले बताए ।
सुदूरपश्चिम प्रादेशिक कार्यालयका लागि भने कञ्चनपुरमा राष्ट्रिय आवास कम्पनी लिमिटेडसँग रहेको २० बिघा जग्गा खरिदका लागि प्रक्रिया अघि बढाइएको समिति सदस्य तथा उपनिर्देशक प्रदीप यादवले जानकारी दिए । ‘सुदूरपश्चिम प्रादेशिक कार्यालयका लागि उपयुक्त जग्गा भेटिसकेको छ । अब खरिदका लागि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउनु आवश्यक छ,’ यादवले भने ।

तपाईको प्रतिक्रिया