सिम्रिक एअरको सबै उडानमा रोक

 काठमाडाैँ ।   नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एअरका सबै हेलिकप्टर उडानमा रोक लगाएको छ । चार वटा हेलिकप्टर मार्फत उडान भर्दै आएको स्रिमक एअरले प्राधिकरणलाई तिर्नुपर्ने रकम नतिरेका कारण उडानमा रोक लगाइएको हो ।
प्राधिकरणलाई तिर्नुपर्ने ४६ लाख रुपैयाँ नतिरेकाले आज शुक्रवारदेखि कम्पनीका सबै हेलिकप्टरको उडान रोक्ने निणर्य गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।
प्राधिकरणको टोलीले गरेको वित्तीय अडिटबाट सिम्रिक एअरको वित्तीय अवस्था पनि कमजोर देखाएकाले सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै उडान रोकिएको उनको भनाइ छ ।

 

’सिम्रिक एअरको वित्तीय अवस्थाका कारण पाइलट तथा कर्मचारीको पारिश्रमिक नै नपाउने अवस्था हुनु उडान सुरक्षाका दृष्टिकोणले गम्भीर मानिन्छ, त्यसैले प्राधिकरणले सिम्रिक एअरका सबै हेलिकोप्टरको उडानमा रोक लगाइएको हो’, सूचना अधिकारी भुलले भने ।
सिम्रिक एअरसँग रहेका चार हेलिकप्टरमध्ये एउटा बिग्रिएको र बाँकी तीन वटाले उडान भर्दै आएका थिए । कम्पनीसँग दुई वटा बेल र दुई वटा एएस ३५० हेलिकप्टर छन् ।
नागरिक उड्डयन निमयावली-२०५८ र विमानस्थल सेवा शूल्क नियमावली-२०७८ बमोजिम सिम्रिक एअरको उडानमा रोक लगाइएको हो । भुलका अनुसार बक्यौता नतिरेसम्म उडान रोकिने र बक्यौता रकम आजै बुझाएको खण्डमा उडान गर्न दिइने छ ।

तपाईको प्रतिक्रिया