बजार पाएन ढाकाको कपडाले

रुकुम पश्चिम। रुकुम पश्चिमको मुसीकोट नगरपालिका-८ का महिलाहरु यतिबेला सामूहिकरुपमा ढाकाका कपडा बन्न व्यस्त भएका छन् । एघार जनाको समूहले ढाकाको विभिन्न कपडा बुनिरहेका छन् । महिलाले आफ्नो आयआर्जन बढाउने हेतुले ढाकाका कपडा बुन्न थालेका हुन् ।
तर, तीन महिनासम्म बुनेको ढाकाको कपडाले बजार पाउन नसकेको उनीहरुको गुनासो छ । हालसम्म उक्त समूहले रु. एक लाखसम्मको कपडा बुनिसकेको छ ।

ढाकाको सल, साडी, ब्लाउज, गलबन्दी, बर्कीलगायतका सामग्री उत्पादन भएको छ । “हामीले तीन महिनादेखि ढाकाको कपडा उत्पादन गरिरहेका छौँ, अहिलेसम्म कपडा किन्न कोही आएका छैनन्”, गङ्गा थापाले भने ।

 

महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपाल, मुसिकोट नगरपालिका र गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) को संयुक्त आयोजनामा ढाका बुनाइ तालिम सञ्चालन गरिएको थियो । तीन महिनासम्म सञ्चालन भएको तालिममा सहभागी ११ महिलाले ढाकाको सल, साडी, ब्लाउज, गलबन्दी, बर्कीलगायतका सामग्री उत्पादन गर्न सिकेका छन् ।
महिलाको आर्यआर्जन बढाउनलाई नै तालिम सञ्चालन गरेर कपडा बुन्ने तालिम दिइएको हो । महिलाले तालिम पनि लिए । सीप पनि सिके । तर उत्पादन गरेको सामानले भने बजार नपाउँदा उनीहरु निराश भएका छन् । आफैँ बजारको खोजीमा जाने योजना रहेको उनीहरु सुनाउँछन् ।
खलङ्गा बजारबाट धागो लिएर ढाकाको कपडा बुन्ने गरिएको छ । विगतका वर्षहरुमा भने ढाको कपडाभन्दा अल्लोको कपडा धेरै उत्पादन हुने गर्थ्यो । अल्लोको भने बजारको समस्या नभएको थापाको भनाइ छ ।

तपाईको प्रतिक्रिया