बालविवाहविरुद्ध देउडा गीत

हुम्ला ।  हुम्लाको सिमकोटमा बालविवाहविरुद्ध विद्यालयका छात्राहरू गाउँ गाउँमा देउडा गीतमार्फत जनचेतना फैलाउन थालेका छन् । सिमकोट गाउँपालिका-८ को सैपाल माध्यमिक विद्यालयकी छात्रा जानकी बुढाले बर्सेनि बालविवाह बढिरहेकाले विद्यालयमा छात्रा मिलेर देउडा गीतमार्फत जनचेतना फैलाउन सुरु गरेको बताए । जिल्लाका अधिकांश गाउँमा बालविवाह न्यूनीकरण हुनुपर्नेमा वृद्धि हुन थालेपछि विद्यालयका छात्रा यसरी जुटेका हुन् ।

 

 

यसअघि उनीसहित विद्यालयका बिस जना छात्राले बालविवाहविरुद्धको तालिम लिएका थिए । उनले गाउँ गाउँमा बालविवाह हुने तर उजुरीसमेत नपर्ने भएकै कारण यो सङ्ख्यामा वृद्धि भएको बताए । देउडा गीत गाउने कार्यक्रम स्थलमा माइकिङ गरेर स्थानीयलाई जम्मा गर्ने त्यसपछि गाउने गरिएको छ । यो कार्यक्रम वडाभरिका सबै बस्तीमा सञ्चालन गर्ने र छिमेकी वडाका गाउँमा जाने कार्यक्रम पनि उनले तय गरेका हुन् ।
देउडा गीतमा ‘म बालविवाह गर्दिनँ र अरूलाई पनि गर्न दिन्नँ’ भन्ने टुक्का राखिएको छ । हालसम्म उनको समूहले चार वटा गाउँमा देउडा गीत गाउने कार्यक्रम गरिसकेका छन् । उनले पढाइलाई पनि बाधा नपुग्ने गरी शुक्रबार र शनिबार यो कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

तपाईको प्रतिक्रिया