रुकुमपश्चिममा लगातारको वर्षाले क्षति

रुकुमपश्चिम ।  रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकामा शुक्रबारदेखिको लगातार वर्षाले भौतिक तथा पशुपन्छीमा क्षति पु-याएको छ । त्रिवेणी गाउँपालिका-५ का अध्यक्ष रनबहादुर पुनका अनुसार वडावासी बलाराम विकको घर भत्किएको छ । पहिरोमा केही घर, गोठ र घट्ट भत्किँदा गाई र कुखुरा पुरिनुका साथै खेती नष्ट भएका छन् । घरमा भएको अन्नपात र सरसामान पूणर् रूपमा क्षति भएको छ । बलारामको परिवार आफन्तको घरमा सहारा लिएर बसेका छन् । शनिबार राति स्थानीय डिल्लीबहादुर ओलीको गोठघर पहिरोले पुरिँदा एक वटा दुहुनो गाई र केही कुखुरा मरेका छन् । गोठमा राखिएको अन्नपातसमेत पहिरोमा पुरिएको छ।

 

 

उनका अनुसार लगातारको वर्षाले सो वडाका १५ घरमा पहिरोले आंशिक क्षति गरेको छ । वडाका दमाई टोल र पल्लोडेराटोलसमेत पहिरोको जोखिममा रहेका छन् ।
वर्षाका कारण त्रिवेणी गाउँपालिका-८, गरेनाका पहलसिंह खड्काको दुईतले घर भत्किएको छ । घरमाथिबाट खसेको पहिरोले घरमा पूणर् रूपमा क्षति पुगेको जनाइएको हो । पहिरोले घरभित्र रहेका सामान, अन्न, लत्ताकपडा पुरिएका छन्।
घरमा पूणर् रूपमा क्षति पुगेपछि पहलसिंहको पाँच जनाको परिबार आफन्तको घरमा शरण लिएर बसिरहेका छन् । शनिबार नै राति आएको पहिरोले त्रिवेणी गाउँपालिका-१०, मान्टुराका सपबिर ओलीको दुई वटा पानीघट्ट, पिस्न लगिएको स्थानीयको करिब दुई सय किलो अन्न पनि पुरिएको छ । ओलीकै मान्टुरामा रहेको चार रोपनी खेतमा लगाएको धानबालीसमेत पुरिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया