सल्यानको माल्नेटामा महिला मृत फेला

सल्यान । सल्यानमा घाँटी रेटिएको अवस्थामा एक महिलाको शव भेटिएको छ । जिल्लाको शारदा नगरपालिका १४ माल्नेटा स्थित कालिमा प्रावि नजिकै स्थानीय अन्दाजी ४७ वर्षीया उर्मिला गिरीको शव भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालका अनुसार उनी आइतबार बिहान घर नजिकैको बारीमा घाँस काट्न गएकी थिइन् । बिहान १० बजेसम्म घर नफर्केपछि श्रीमान् खडगबहादुर गिरी खोज्दै जाँदा बारीको ढिकमा मृत अवस्थामा फेला पारेका थिए । बिहान घाँस काटन गएकी गिरी घर नफर्केपछि खोज्दै जाँदा श्रीमान्ले नै बारीको कुनामा श्रीमतीलाई मृत अवस्थामा फेला पारेको उनले जानकारी दिए ।

 

घटनाको प्रकृति हेर्दा महिलाको हत्या गरेको जस्तै देखिए पनि तत्काल केही भन्न नसकिने उनले जानकारी दिए । उनका अनुसार अहिले जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी निरीक्षक गोपाल श्रेष्ठको नेतृत्वमा र ढोडचौर चौकीबाट प्रहरी टोली घटनास्थलमा पुगेका छन् । घटनास्थल चारैतिरबाट सुरक्षित गरिएको छ । घटनाको अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया