डा. गोविन्द केसीले सल्यानबाट विशेषज्ञ स्वास्थ्य सेवा दिन सुरु

सल्यान । डा. गोविन्द केसी विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न सल्यान आइपुगेका छन्। उनले शनिबारदेखि सल्यान जिल्ला अस्पतालमा सेवा दिन सुरु गरेका छन्।

तीन दिन सल्यानमा रहेर हाडजोर्नी तथा नशा रोग सम्बन्धी बिरामीलाई सेवा प्रदान गर्ने उनले बताए। उनले भने, ‘दूरदराजको ग्रामीण बस्तीका बिरामीको उपचार गर्नु मेरो धर्म हो। यो धर्म न भौगोलिक विकटताले रोक्छ न त सरकारले नै।’

नेपालका अधिकांश जिल्लाका ग्रामीण क्षेत्रमा पुगेर नेपालीको स्वास्थ्य अवस्था बुझेका कारण गाउँघरमा रहेका बिरामीलाई थोरै भए पनि सहयोग पुगोस् भनेर गाउँबस्तीमा पुग्दै आएको उनको भनाइ छ।

स्वास्थ्य सेवा सुधारको माग गर्दै लामो समयदेखि सरकारलाई दबाब दिँदै आएका डा. केसीले सरकारसँग यसअघि गरिएका सहमति सम्झौता पूरा नभए साउन २९ गतेदेखि सत्याग्रह सुरु गर्ने बताए।

डा. केसीले मेडिकल शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधार, सुशासन र न्याय नभएसम्म आन्दोलनलाई निरन्तरता दिइरहने बताए। जुन सरकार आए पनि समस्या समाधान गर्ने सहमति मात्र गर्ने तर सहमति कार्यान्वयन गर्नेतर्फ कुनै पहलकदमी नचालेको आरोप लगाउँदै विगतका सहमति र सम्झौता पूरा नभए २९ गतेदेखि सत्याग्रह सुरु गर्ने बताए।

राजनीतिक आडमा मापदण्ड नपुगेका मेडिकल कलेज खोल्न बन्द गरिनुपर्ने र चिकित्सा सुधार गर्नु सत्याग्रहको मुख्य कारण रहेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया