मदिरा पिउन अब लाइसेन्स अनिवार्य

जुम्ला ।   जुम्लाको गुठीचौर गाउँपालिकामा भदौ १ देखि हरेक पियक्कडले दिनमा एक बोतल बियर वा १८० मिलिलिटर हार्डड्रिंक्स मात्र सेवन गर्न पाउने भएको छ ।
उक्त गाउँपालिकाले भदौ १ बाट लागू हुने गरी ल्याउन लागेको मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधिले पियक्कडलाई मद्यपानका लागि ‘लाइसेन्स’ लिनुपर्ने भएको हो ।
कार्यविधि लागू भएपछि पालिकावासी पियक्कडले ५ सय रुपैयाँ तिरेर मदिरा सेवन कार्ड बनाउनुपर्नेछ भने त्यति नै रकम बुझाएर बर्सेनि नवीकरण पनि गर्नुपर्नेछ । पालिका बाहिरका मदिरा सेवनकर्ताका लागि भने एक सय रुपैयाँमा अतिथि मदिरा कार्ड उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ । पछिल्लो समयमा मदिरा सेवनका कारण आगजनी र चोरीका घटना बढ्न थालेपछि कार्यविधि नै बनाएर मदिरा नियन्त्रण अभियान सुरु गर्नुपरेको बताउँदै प्रवक्ता महतराले भने, ‘पालिकामा जबसम्म पूणर्रूपमा मदिरा नियन्त्रणमा आउन सक्दैन, तबसम्म शान्ति सुरक्षाको अनुभूति हुने छैन ।’

 

गुठीचौर गाउँपालिकाले १५ औं गाउँसभाबाट उक्त कार्यविधि पारित गरेको हो । पालिकाले मदिरा बेच्नेका हकमा पनि नियम तय गरेको छ । कार्यविधिमा थोक विक्रेताले बिहान ७ देखि बेलुका ५ बजेसम्म र खुद्रा विक्रेताले बेलुका ६ देखि ९ बजेसम्म मात्रै मदिरा बेच्न पाउने व्यवस्था गरिएको छ । प्रवक्ता महतराले कार्यविधिबारे सर्वसाधारणलाई बुझाउन जनप्रतिनिधि, कर्मचारी र स्वयंसेवक खटाइएको बताए ।
कार्यविधिमा मदिरा पसलले अन्य दैनिक उपभोग्य वस्तु राख्न नपाउने र विक्रेताले कार्यविधि उल्लंघन गरेमा हरेक पटक १० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था पनि गरिएको छ । मदिरापान गरी होहल्ला गर्नेका हकमा भने पहिलो पटक एक हजार रुपैयाँ र कसुरैपिच्छे दुई हजारका दरले जरिवाना बढ्दै जाने कार्यविधिमा उल्लेख छ । सार्वजनिक पदधारण गरेका व्यक्ति र सरकारी कर्मचारीले मदिरा सेवन गरी होहल्ला, गाली बेइज्जतीजस्ता क्रियाकलाप गरेमा सर्वसाधारणलाई भन्दा दोब्बर सजायका लागि विभागीय कारबाही गरिने उल्लेख छ ।

तपाईको प्रतिक्रिया