कर्णाली दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वतयारीमा

 सुर्खेत । कर्णाली प्रदेश विरेन्द्रनगरस्थित दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वतयारीमा कर्णाली जुटेको छ । विसं २०८१ मङ्सिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा हुने उक्त प्रतियोगिता आयोजना हुने समय नजिकिंदै छ ।
प्रतियोगिताको समय नजिकिंदै गरेकाले सङ्घीय सरकार र राष्ट्रिय खेलकुद परिषद्ले बेलैमा ध्यान दिनुपर्नेमा कोशी प्रदेशका खेलकुद परिषद् सदस्य हंसराज वाग्लेले जोड दिए ।
डेढ वर्षपछि दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएपछि यहाँको पूर्वाधार संरचना र तयारी अवस्था बुझ्न कोशी र बागमती प्रदेशका खेलकुद परिषद् सदस्यसचिवहरु कर्णालीमा आई पुगेका छन् । उनीहरुले यहाँको निर्माणाधीन रङ्गशालाको भौतिक संरचनाको अवलोकन गरेका हुन् ।
खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा निर्माणाधीन रङ्गशालाको काम तीव्ररुपमा अगाडि बढिरहेको छ । खेलकुद प्रतियोगिताको पूर्वतयारी गर्न बजेट कमि भएको बताइएको छ ।

बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले प्रदेश रङ्गशालाको प्रगति उत्साहजनक भएको बताए । उनले भने, ‘रङ्गशालाको अवलोकन गरियो । निर्माण कार्यको प्रगति प्रशंसा गर्नलायक छ । काम अझै युद्धस्तरमा बढ्नुपर्दछ । प्रदेश सरकार आफैँले ८५ करोड बजेट छुट्याए पनि पूर्वाधारमा केही समस्या हुने देखिन्छ ।’
सङ्घीय सरकारसँग पनि धेरै पटक बजेटको माग गर्दा पनि सहयोग नगरेको दुःखेसो पोख्दै सदस्यसचिव सञ्ज्यालले रङ्गशालाको ६० प्रतिशत भौतिक प्रगति भएको र अन्य जिल्लाहरुमा संरचनाको अभाव रहेको बताए ।

तपाईको प्रतिक्रिया