रुकुम पश्चिम : रुकुम पश्चिममा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका-७ बाँसथलास्थित पोखरापरी भिरमा घाँस काट्न गएका दुई जनाको पहिरो खस्दा मृत्यु भएको हो ।
आइतबार दिउँसो पौने तीन बजेको समयमा घाँस काट्न गएका बाँफिकोट गाउँपालिका-७ की ५४ वर्षीया धनमाया खत्री र सोही ठाँउका ४४ वर्षीय कालिबहादुर खड्काको पहिरोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भटराईले जानकारी दिनुभयो । उनीहरुको घटनास्थलमै मृत्य भएको हो । पहिरोमा परी एक जना घाइते भएका छन् ।
त्यस्तै बाँफिकोट-७ कै ४२ वर्षीया बलकुमारी खत्री घाइते भएका छन् । खत्रीलाई उपचारका लागि अस्पताल पठाइएको प्रनाउ भटराईले बताउनुभएको हो । घाँस काट्ने क्रममा टेकेको ठाउँ भासिएर तीन जना पहिरोसँगै खसेको उहाको भनाइ छ । तीनै जना करिव पाँच सय मिटर तल खसेको र ढुङ्गाले च्यापिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।


दर्शन खबर । १५ श्रावण २०८०, सोमबार