हुम्ला । अविरल वर्षापछि गएको पहिरोले हुम्लाको सर्केगाढ गाउँपालिका वडा नं २, ३, ६ र ८ मा पहिरोले ठूलो भौतिक क्षति गरेको छ।
गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीका अनुसार शुक्रबार र शनिबार उक्त गाउँहरूमा पहिरो गएको हो। पहिरोका कारण मानवीय क्षति नभए पनि गाउँका पुल, पानीघट्ट, खेती, खानेपानीलगायत सबै संरचना बगाएको उनले बताए।
५०० भन्दा बढी परिवार पहिरोको उच्च जोखिममा रहेकाे र उनीहरूलाई सुरक्षित स्थानमा सार्नेबारे छलफल भइरहेको उपाध्यक्ष कार्कीले बताए ।
एक घरदेखि अर्को घरमा आवतजावत गर्ने अवस्था नरहेको उपाध्यक्ष कार्कीको भनाइ छ। सबैभन्दा बढी २ नं वडाको रिप गाउँका स्थानीय प्रभावित भएको छ। लेकमा गएका गोठालाहरू उतै थुनिएको साथै विद्यालय समेत बन्द रहेकाे उनले बताए ।
सिपगाड तर्नका लागि बनाइएका तीन वटा काठे पुल पहिरोले बगाएको छ। तातोपानी लघु जलविद्युत् आयोजनाको पावर हाउस र तातोपानीका कुण्डहरू पुरिएका छन्। गाउँमाथिको ठुलो पहाड चिराचिरा पर्न थालेकाले जोखिम कायमै रहेको उपाध्यक्ष कार्कीले बताएका छन् ।


दर्शन खबर । १४ श्रावण २०८०, आईतवार