जुम्ला । जुम्ला सदरमुकाम खलङ्गा बजारस्थित रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा पर्याप्त मात्रामा नुन रहेको छ । अहिले एक हजार सात सय २१ क्विन्टल नुन मौज्दात रहेको कार्यालय प्रमुख खगेन्द्र मल्लले जानकारी दिनुभयो ।
सदरमुकामको डिपोमा आठ सय २१ क्विन्टल, सिञ्जाको नराकोट डिपोमा पाँच सय ५० क्विन्टल र गुरुचौर डिपोमा तीन सय ५० क्विन्टल रहेको कार्यालयले दाबी गरेको छ । सदरमुकामस्थित रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा अहिले नुनको अभाव नरहेको र आठवटै स्थानीय तहका वडाबाट नुन वितरण गरिने कार्यालय प्रमुखले बताउनुभयो । कार्यालयको मुख्य डिपोबाट गत असार ३१ गते उपभाेक्तालाई नुन वितरण भइरहेको समयमा केही व्यक्तिले आक्रोश भई डिपोमा तोडफोड समेत गरेका थिए । गत आवकै नुन समयमै वडामा ढुवानी नहुँदा सदरमुकाम डिपोमा नागरिकको भीड लाग्ने गरेको कार्यालयले जनाएको छ ।
गत आव २०७९/०८० मा जुम्ला सदरमुकामसहित तीनै डिपोका लागि चार हजार दुई सय क्विन्टल कोटा रहेकामा सबै ढुवानी भइसकेको छ । यही साउन ३ गते प्रदेश कार्यालय नेपालगन्जबाट तीन सय २० क्विन्टल नुन आएको कार्यालय प्रमुख मल्लले जानकारी दिए । वडामै नुन ल्याउनका लागि साल्ट ट्रेडिङसँग समन्वय भइरहेको तिला-१ का वडाध्यक्ष जङ्गबहादुर बस्नेतले जानकारी दिनु भएको छ ।


दर्शन खबर । ७ श्रावण २०८०, आईतवार