सुर्खेत । लघु वित्तिय संस्थाहरू खारेजीको माग गर्दै लघु वित्तिय संस्थाविरुद्धको संघर्ष समितिले सुर्खेतमा विरोध प्रदर्शन तथा धर्ना दिएको छ । संघर्ष समितिले ५ बुँदे मागसहित जिल्ला प्रशासन कार्यालय सुर्खेतमा २ घण्टा धर्ना दिनुका साथै विरोध प्रदर्शन गरेको हो । संघर्ष समितिले लघु वित्त संस्थाहरूलाई नवसामन्तको आरोप लगाउँदै खारेज गर्नुपर्ने, सामूहिक ऋण मिनाहा गर्नुपर्ने, गरिब किसानलाई निःशुल्क ऋण दिनुपर्ने, समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने लगायतका माग गर्दै वीरेन्द्रनगर मंगलगढीमा नाराबाजीसहित प्रदर्शन गरेको हो । पीडितहरूले नवसामन्तका रूपमा स्थापित भइरहेका लघुवित्त संस्थाहरू खारेज गर, लघुवित्त संस्थाहरूद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर, आम गरिब किसानहरूलाई निःशुल्क ऋण प्रदान गर, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर, समाजवादी अर्थतन्त्रको विकास गर लेखिएका प्लेकार्ड र ब्यानर बोकेर विरोधमा उत्रिएका थिए । लघुवित्तको आवरणमा अनुत्पादक क्षेत्रमा लगानी, बचतकर्ताको बचतको हिसाबकिताब नभएको, राष्ट्र बैंकको निर्देशिकाभन्दा बाहिर गएर एउटै सदस्यलाई धेरै लघु वित्तले ऋण दिएर अनावश्यक ऋणको बोझ थोपरेकाले धर्ना तथा विरोध प्रदर्शन गरिएको लघु वित्तिय संस्थाविरुद्धको संघर्ष समितिका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेश संयोजक रमेश सुनारले जानकारी दिए।


दर्शन खबर । १६ फाल्गुन २०७९, मंगलवार