कुलेन्द्र शाही सुर्खेत । देश संघीयतामा गएको भएपनि जनताका समस्याहरु जस्ताको त्यस्तै रहेका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेत भएपनि यहाँका विभिन्न समस्याहरु भने जहाँका त्यही रहेका छन् । राजधानी वीरेन्द्रनगरमा जति सुविधा सम्पन्न भएपनि अन्य स्थानीय तहमा भने समस्याहरु समाधान भएको पाइएको छैन् । त्यसको उदाहरण बनेको छ । सुर्खेतको पूर्वी भागमा रहेको भेरीगंगा नगरपालिका, भेरीगंगा नगरपालिका वडा नम्बर १ मा स्वास्थ्य उपचारका लागि बिरामीलाई स्टेचरमै बोकेर स्वास्थ्य संस्था लग्नुपर्ने बाध्यतालाई नयाँ भन्न मिल्दैन् । लामो समयदेखि भेरीगंगा नगरपालिका वडा नम्बर १ का विभिन्न ठाउँमा पैदल हिँडेर बिरामीलाई स्टेचमै बोक्नुपर्ने बाध्यता भने अहिलेसम्म पनि अन्त्य भएको छैन् । भौगोलिक रुपमा विकट भएका कारण यहाँका बासिन्दाले सहज स्वास्थ्य सेवा नपाउनुका साथै बिरामीलाई स्टेचरमै बोकेर स्वास्थ्य संस्थामा पुर्याउने र ल्याउने गर्दै आएका छन् । भेरीगंगा नगरपालिका वडा नम्बर १ को सबै ठाउँमा सडक सञ्जाल नजोडिएको हुँदा बिरामीलाई स्टेचर तथा डोकोमा बोकेर स्वास्थ्य संस्थामा पुग्ने गरेको स्थानीयबासीले बताएका छन् । करिब दुई हप्ता अगाडि भेरीगंगा नगरपालिका वडा नम्बर १ मा एक जना १५ वर्षकी बालिका बिरामी भइन् । उनलाई उपचार गर्न वीरेन्द्रनगर ल्याउनुपर्ने भयो । वीरेन्द्रनगर ल्याउन करिब ४ घण्टा भन्दा बढी समय लाग्ने गर्दछ ।
घरदेखि हिँडेर वडा नम्बर २ काल्पानी सम्म मात्रै जान करिब २ घण्टाभन्दा बढी समय लाग्ने गर्दछ । बिरामीलाई त्यहाँका युवा तथा बुढापाकाले भाँचिएको स्टेचरमै बोकेर जसोतसो काल्पानी पु¥याए । जोखिमपूर्ण गोरेटो बाटोमा बिरामीको लोडसँग हिँड्नै मुस्किल हुने गरेको स्थानीयको गुनासो छ । बिरामी तथा अन्य उपभोग्य र निर्माणका सामाग्री समेत ओसार्न समस्या रहेको छ । बाटोमा बिरामी, गर्भवती, बालबालिका, अशक्त र ज्येष्ठ नागरिकलाई बढी समस्या हुनुको साथै अन्य नागरिक समेत जोखिम मोलेर आवत–जावत गर्नुपर्छ । विद्यालय, स्वास्थ्य, खानेपानी, विद्युत लगायत निर्माण कार्यका सामान ओसार्न समेत समस्या रहेको छ । यता भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालले भेरीगंगाको वडा नम्बर १, २ र ३ लाई सडक सञ्जालमा जोड्ने गरी पहल भइरहेको बताए । उनले यी तीन वडालाई सडक सञ्जालसँग जोड्नको लागि आफुहरुले संघ तथा प्रदेशसँग समन्वय गरिरहेको बताए । यस्तै वडामा स्टेचरको अपुग भए नगरपालिकालाई जानकारी गराइदिन समेत उनले आग्रह गरेका छन् । यता वडा नम्बर १ का वडा अध्यक्ष दिनेश पुलामीले आफ्नो वडामा ४० प्रतिशत सडक पुगेको र ६० प्रतिशत सडक र्पुयाउने तयारीमा रहेको बताए । वडा नम्बर १ मा सडक सञ्जाल जोड्नको लागि सम्झौता भइसकेको समेत उनले जानकारी दिए ।


दर्शन खबर । १७ फाल्गुन २०७९, बुधबार