प्रधानमन्त्री जान स्थगित गरिएको कतार भ्रमणमा नारायणकाजी जाने

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जाने भनिएको कतारको दोहा भ्रमणमा उपप्रधान एवं भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ जाने भएका छन् । अतिकम विकसित मुलुकहरूको पाँचौं संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन उनी दोहा जान लागेका हुन् ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री श्रेष्ठको फागुन १९ देखि २३ गतेसम्म हुने भ्रमण स्वीकृत गरेको छ। उक्त सम्मेलनमा यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जाने तयारी थियो। तर फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनका लागि भन्दै अन्तिममा भ्रमण स्थगित भएको थियो। त्यस्तै थाइल्यान्डको बैंककमा फागुन २४ र २५ गते हुने भर्चुअल बिम्स्टेक बैठकमा भाग लिन परराष्ट्र सचिवको नेतृत्वमा प्रतिनिधि मण्डल गठन हुने भएको छ।

एसियाली विकास बैंकको आयोजनामा फिलिपिन्समा हुने मध्यकालीन समीक्षा कार्यक्रममा सहभागी हुन अर्थ मन्त्रालयका सचिव तोयम रायालाई स्वीकृति प्रदान गरेको छ। त्यस्तै नेपाल सरकारका सबै निकायको तथ्यां र सूचना प्रविधि प्रणाली सरकारी एकीकृत डाटा केन्द्रमा राखी व्यवस्थापन गर्ने र राष्ट्रिय सूचना प्रविधि केन्द्रले काठमाडौंमा रहेको सरकारी एकीकृत डाटा केन्द्र र हेटौंडामा रहेको डीजास्टर रिकभरी केन्द्रलाई पूर्ण क्षमतामा सञ्चाल गरी चौबिसै घन्टा नेटवर्किङ र साइबर सुरक्षासम्बन्धी प्राविधिकले निगरानी गर्ने व्यवस्था मिलाउन सरकारले निर्णय गरेको छ


तपाईको प्रतिक्रिया