अहिलेको गठबन्धन पदका लागि होईनः महामन्त्री थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुस १० मा अस्वभाविक गठबन्धन बनेकोले अहिले भत्किएको बताएका छन् । मंगलवार काठमाडौं क्षेत्र नम्बर ४ सांसदको कार्यालय उद्घाटन गर्दै थापाले निर्वाचन अघिको गठबन्धन भत्काएर पुस १० गते अप्राकृतिक गठबन्धन बनाउने गल्ती सच्चाइएको बताएका हुन् ।निर्वाचनमा फरक–फरक उद्देश्य भएका दलले गठबन्धन बनाएर जनताबीच मुलुक बनाउने प्रतिवद्धता गरेको र निर्वाचनपछि जनतामाझ गरेको प्रतिवद्धता पालना नगरेकाले अहिले ढिलो भएपनि निर्वाचन अघिको गठबन्धनलाई व्युताउन सफल भएको उनले बताए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री मात्रै हुने कुरा सोचेको भए अहिलेको गठबन्धन नै नबन्ने भन्दै उनले अहिलेको गठबन्धन पदका लागि नभएको दावी गरे ।केन्द्रदेखि प्रदेशसम्म ८ दलीय गठबन्धनको सरकार बन्ने दावी गर्दै महामन्त्री थापाले अब गठबन्धनलाई बलियो बनाएर सरकारलाई सफल बनाउनुपर्ने बताए। उनले जनतालाई कामले परिणाम दिन नसके फेरि अप्ठेरो अवस्था आउने भएकाले झ्याल ढोका बन्द गरेर काममा लाग्नुपर्नेमा जोड दिए ।


तपाईको प्रतिक्रिया