डोल्पा । अख्तियारले आइतबार मात्रै डोल्पा जिल्लास्थित ठूलीभेरी नगरपालिकाले सञ्चालन गरेका विभिन्न खालका विकास निर्माण र योजनामा व्यापक अनियमितता भएको ठहर गर्दै नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, विभिन्न वार्डका वडा अध्यक्ष, उपभोक्ता समिति र अनुगमन समितिका गरी २९ जनाविरुद्ध भ्रष्टाचारमा मुद्दा दायर गरेको छ । ठूलीभेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवबहादुर सुनार, तत्कालीन इन्जिनियर वसन्त रोकाया, सब इन्जिनियर शिवराज शाहीलगायत १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो । अख्तियारका अनुसार डोल्पा, ठूलीभेरी नगरपालिकाका–१ देखि वडा नम्बर ११ सम्मका विभिन्न वडामा आव २०७४/७५ मा सञ्चालन भएका योजना तथा सडक निर्माण कार्यमा अनियमितता भएको पाइएको छ । उनीहरूले ठूलीभेरी नगरपालिका–८ स्थित घट्टदेखि तर्पुखोलासम्म सडक निर्माण कार्यको वास्तविक भएको कामभन्दा बढी काम भएको नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन तयार गरी २२ लाख ८९ हजार २ सय ६५ रुपैयाँ सिफारिस गरी भ्रष्टाचार गरेको पाइएको हो । उनीहरूविरुद्ध २२ लाख ८९ हजार २ सय ६५ रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
यसैगरी, अख्तियारले ठूलीभेरी नगरपालिका–८ स्थित घट्टदेखि तर्पुखोलासम्म सडक निर्माण योजनाको अनुगमन समितिका पदाधिकारी कर्णबहादुर रोकाया, काली सार्की, टोपबहादुर चन र ठूलीभेरी नगरपालिका–८ का तत्कालीन वडा अध्यक्ष हरिप्रसाद डाँगीसहित नौ जनाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारका अनुसार उनीहरूले वास्तविक कामभन्दा बढी काम भएको भनी भए गरेको कुरा लुकाइछिपाइ वा नभए नगरेको कुरा देखाई गलत प्रतिवेदन पेस गरी सिफारिससमेतको आधारमा नगरपालिकाबाट सो योजनालाई २२ लाख ८९ हजार २ सय ६५ रुपैयाँ भुक्तानी दिएको पाइएको छ । साथै, अख्तियारले ठूलीभेरी नगरपालिका डोल्पाबाट ठूलीभेरी नगरपालिका–८ स्थित घट्टदेखि तर्पुखोलासम्म सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष हर्कबहादुर डाँगी, कोषाध्यक्ष रेश्मा डाँगी र सचिव कर्ण चन्द्र डाँगीसहित १० जनाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले ठूलीभेरी नगरपालिकालाई गैरकानुनी हानि पु–याउने र आफूहरूले गैरकानुनी लाभ लिने उद्देश्यले नगरपालिकासँग गरेको सम्झौताविपरीत थोरै कार्य गरी बढी कार्य गरेको भनी कामै नगरी २२ लाख ८९ हजार २ सय ६५ रुपैयाँ भुक्तानी लिएको पाइएको थियो । सोही प्रकरणमा उनीहरूलाई भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।


दर्शन खबर । १६ फाल्गुन २०७९, मंगलवार