जाजरकोट । गत माघ १८ गते जाजरकोटको कुशे गाउँपालिकाको वडा नम्बर ४ तप्तीका अन्दाजी ३१ वर्षीय अम्मरबहादुर शाहीको भिरबाट लडेर मृत्यु भयो । ससुरालीबाट घर फर्किंदै गर्दा उनको भिरबाट लडेर मृत्यु भएको हो । यस्तै एक हप्ता अगाडि मात्रै नलगाड नगरपालिका वडा नम्बर १ का ६५ वर्षीय भद्र कामीको पनि खच्चर मा सामान लिएर वडा नम्बर १ जुरेलीतर्फ जाँदै गर्दा लडेर मृत्यु भयो । गत वर्ष २०७८ असार ९ गते भिरबाट लडेर घाइते भएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्य भएको थियो । वडास्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन जाँदै गर्दा उनी लडेर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि ने पालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । जाजरकोटमा यस चालु आर्थिक वर्षको ८ महिनामा ६ जनाको भिरबाट लडेर मृत्यु भएको छ ।
आर्थिक वर्ष २०७६/०७७ मा ४ जनाको मृत्यु भएको थियो । यस्तै आर्थिक वर्ष २०७७/०७८ मा सो संख्या बढेर ७ मा पुगेकोमा गत आर्थिक वर्ष २०७८/०७९मा सबैभन्दा बढी १० जनाको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । यस्तै जाजरकोटमा यस चालु आर्थिक वर्षको आठ महिनामा मात्र ९ जनाले आत्माहत्या गरिसकेका छन् । आर्थिक वर्ष २०७६/०७७ मा ६ जनाले आत्महत्या गरेका थिए । यस्तै २०७७/०७८ मा २८ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी एवं प्रहरी नायव उपरीक्षक सन्तोष रोकाले जानकारी दिए । उनका अनुसार २०७८/०७९ मा भने आत्महत्या गरी मृत्यु हुने को संख्यामा केही कमी आएको छ । २०७७/०७८ मा २८ जनाले आत्माहत्या गरेकोमा आर्थिक वर्ष २०७८/०७९ मा १७ जनाले मात्र आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटको तथ्यांकमा उल्लेख छ ।


दर्शन खबर । १६ फाल्गुन २०७९, मंगलवार