सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकारमा जान आफ्नो दाबी नरहेको बताएका छन् । आइतबार साँझ ट्वीट गर्दै खड्काले सरकारमा आफ्नो दाबी नरहेको स्पष्ट पारेका हुन् । गत पुस १० मा तत्कालीन पाँच दलीय गठबन्धन भत्किएको र त्यसलाई पुनर्स्थापित गर्ने सोही दिन गरिएको संकल्पलाई पूरा गरिएको उपसभापति खड्काको भनाइ छ । उनले ट्वीटरमा लेखेका छन्, ‘ पुस १० गते भत्काइएको गठबन्धनलाई पुनर्स्थापित गर्ने त्यही दिन राति गरेको संकल्पलाई लगभग पूरा गरिएको छ। अब मेरो दाबी कुनै कुरामा छैन ।’ उनले आफ्नो नाम अरुसँग जोडेर सरकारमा जाने दाबी गरेको भनेर मिडिया र सामाजिक सञ्जालमा बहसको विषय नबनाउन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘मेरो नाम अरूसँग जोडेर सरकारमा जाने दाबी गरेको भनेर कृपया मिडियामा र सामाजिक सञ्जालमा बहसको विषय बनाएर मलाई अन्याय नगरीदिनुहोस् ।’


दर्शन खबर । १६ फाल्गुन २०७९, मंगलवार