पोल गाडेको पाँच वर्षसम्म पनि कुशेमा बलेन बिजुली

जाजरकोट । कुशे गाउँपालिकामा विद्युतका पोल गाडिएर तार झुण्ड्याएको पाँच वर्ष भएपनि अहिलेसम्म बिजुली बल्न सकेको छैन् । ३३ केभी प्रसारण लाइन कुशेमा र्पुयाउनका लागि नेपाल विद्युत प्राधिकरणले पाँच वर्षअघि बोलपत्र आह्वान गरेर काम सुरु गरे पनि हालसम्म सेवा सञ्चालन हुन सकेको छैन् । कुशे ५ पाँचकाटियाबाट खुर्पासम्म पोल गाडिएका छन् । शाइ बाबा एण्ड तारा कन्टक्सन खलङ्गा २ ले पालिकाको पाँचकाटियादेखि खुर्पा समकोटसम्म प्रसारण लाइन निर्माण गर्न आर्थिक वर्ष २०७५(७६ मा ठेक्का लिएकामा हालसम्म काम सम्पन्न भएको छैन । अहिले गाडिएको पोल जीर्ण अवस्थामा छन् भने तार छरिएर अलपत्र भएका छन् ।

दुई ठाउँबाट विद्युत लिनका लागि काम सुरु भएको पाँच वर्ष बितिसक्दा आधा काम पनि नहुँदा यहाँका सर्वसाधारण मर्कामा परेका छन् । छेडागाड नगरपालिकाको थलहबाट कुशे गाउँपालिका र भेरी नगरपालिका हुँदै कुशेको पाँचकाटिया जोडेर पालिकाभर विद्युतीकरण गर्ने उद्देश्यसहित प्राधिकरणले ठेक्का उपलब्ध गराएकामा हालसम्म २० प्रतिशत काम भएको बताइएको छ । बाटुल्ले बजारदेखि साधि विस्यौनासम्म तार ठाउँ ठाउँमा थुपारेर फ्याकिएको अवस्थामा भएपनि पालिकाले यसमा कुनै चासो नदेखाएको स्थानीयवासी जनक चन्दले बताए पालिका, प्राधिकरण र निर्माणको जिम्मा लिएको कम्पनीले छिटो काम चालु गरी विद्युत आपूर्ति गर्नुपर्ने स्थानीयवासीको माग थियो ।

तपाईको प्रतिक्रिया