आफ्नो पार्टीलाई बलियो लडाकु पार्टीको रूपमा स्थापित गर्ने छु : झलनाथ खनाल

सुर्खेत । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीलाई बलियो लडाकु पार्टीको रूपमा स्थापित गर्ने बताएका छन् । आइतबार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता खनालले यस्तो बताएका हुन् । उनले देश समाजवादी क्रान्तिमा अघि बढिरहेको बताउँदै आफ्नो पार्टी पनि त्यही दिशामा अघि बढिरहेको बताएका छन् । राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवार सहयोग गर्न माग गर्दै नेकपा एमालेले पठाएको पत्रबारे पार्टीमा छलफल गरेर निर्णय गरिने जानकारी दिए । ‘अहिले राष्ट्रपतिको मतका लागि पत्र आइरहेका छन् त्यो विषयमा हामी छलफल गर्छौँ,’ उनले भने ।

पार्टीका अध्यक्ष माधव नेपालले भने एमालेका उम्मेदवारलाई मत हाल्न नसकिने स्पष्ट पारिसकेका छन् । साथै उनले वामपन्थीहरुको बीचमा एकता हुन आवश्यक रहेको समेत उल्लेख गरे । ‘तर उनीहरू भित्रै दक्षिणपन्थी छन् । त्यसैले नेकपा एकीकृत समाजवादीको तत्काल कुनै पार्टीसँग एकता हुने सम्भावना न्यून रहेको छ,’ खनालले भने । नेपाली समाजवादको विशेष रूप कस्तो हुन्छ भन्ने विषयमा आफूहरू लागिरहेको उनले बताए । एकीकृत समाजवादीलाई बलियो लडाकु पार्टीको रूपमा स्थापित गर्नुपर्ने उनको भनाई छ ।


तपाईको प्रतिक्रिया