हुम्ला । सिमकोट गाउँपालिका तीन वटा वडामा मौलिकता झल्काउने चैतलो पर्व फागुन १४ गते सकिदै छ । हरेक वर्षको फागुन १२ गतेबाट शुरु भई तीन दिनसम्म मनाइने चैतलो पर्व यस वर्ष गत शुक्रबारदेखि धुमधामका साथ सुरु भएको थियोे । यो पर्व राक्षस फकाउन भन्दै वर्षौं पहिले देखिनै क्षेत्री समुदायले मनाउदै आएको मान्यता रहेको सिमकोट ६ का जनक रोकायाले बताए । राक्षस आएर एउटी सुन्दरी महिलालाई आफ्नो (भोजन) गर्ने भएकाले उक्त राक्षसबाट महिलालाई बचाउन रंगीचंगी कपडाको पहिरनमा सजिएर भगवान र देवताहरुको बारेमा भजन कीर्तन गाउँने र विभिन्न रमाइलो प्रस्तुति देखाएर राक्षसलाई फकाउने गरिएको मान्यता रहेको सिमकोट गाउँपालिका–६ की काली रोकायाले जानकारी दिइन् ।
त्यही किम्वदन्ती अनुसार सदरमुकाम सिमकोट र सिमकोट गाउँपालिका २ ठेहे गाउँमा प्रत्येक वर्षको फागुन १२ देखि १४ सम्म चैतलो पर्व धुमधामले मनाउने गरिन्छ । चैतलो पर्वमा विशेष गरी क्षेत्री समुदायका महिलाले श्रीमानको आयु र मनोकांक्षा पूरा होस भन्ने भाकल गर्दै गाउँको सार्वजनिक स्थलमा गीत गाउँदैँ नाच्ने परम्परा समेत रहेको रोकायाले बताइन् । चैतलोमा महिलाहरुले पहेँलो वस्त्रधारण गरेर गाउँको सभास्थल चौपाडी वा भुओखाडोमा सामूहिक गीत गाउँने, नाच्ने चलन छ । त्यसरी नाच्दा ज्येष्ठताका आधारमा पंक्तिबद्ध भई ‘बाह्र भाइ नवदुर्गा भवानी’ को प्रस्तुति र ऋतुको बारेमा भगवानसँग प्रार्थना गर्ने गरिन्छ ।


दर्शन खबर । १४ फाल्गुन २०७९, आईतवार