सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाहले कर्णालीका जनता बीमाको पहुँचमा पछाडि रहेको बताएका छन् । शुक्रवार वीरेन्द्रनगरमा नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेशले आयोजना गरेको वित्तीय क्षेत्रका प्रादेशिक कार्यालय प्रमुखसँग बीमासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । कतिपय कुराहरु बीमा कम्पनीको व्यवहारले देखाउँने भएकाले त्यस्ता केही व्यवहारमा परिर्वतन ल्याउनुपर्ने सुझाव दिँदै मन्त्री शाहले बीमा कम्पनिहरुले गरेको आफ्ना सकारात्मक एजेण्डाहरुलाई पूरा गर्नका लागि सरकारले साथ दिने प्रतिवद्धता जनाएका छन् । मन्त्री शाहले देशै भर बीमाका तीन हजार ३ सय ६६ शाखा भएको र कर्णाली प्रदेशमा जम्मा एक सय ८८ शाखा मात्रै रहेकाले शाखा बढाएर ग्रामिण भेगका जनतालाई सेवा विस्तारका लागि बीमा कम्पनीहरुले आफ्नो क्षमताको विकास गर्नुपर्ने बताए ।
यस्तै, कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रदेश सचिव श्यामकृष्ण थापाले कर्णालीमा बीमाको उपस्थिति कमजोर रहेको र त्यसलाई स्थानीय तहसम्ममा पु¥याउनुपर्ने बताए । उनले भने, ‘कर्णालीका धेरै जसो नागरिकहरुलाई बीमाको बारेमा कुनै जानकारी नै छैन्, कर्णालीका धेरैजसो ठाउँमा बीमा कम्पनी पुग्न जरुरी छ । बीमा कम्पनी सुर्खेत केन्द्रीत हुन थाले।’नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेशको कार्यालय प्रमुख पदमप्रसाद सोडारीले नेपालको वित्तीय प्रणाली उपलब्धी, कार्याक्रमको अपेक्षा, कर्णाली प्रदेशमा बीमाको पँहुच तथा उपस्थिति, बीमा ऐनमा भएको प्रदेशमा बीमा सञ्चालन र व्यवस्थापन सम्बन्धी व्यवस्था, कर्णाली प्रदेशमा वित्तीय पँहुचका लागि देखिएको समन्वयको आवश्यकता, प्रवाधिकणले गरेको प्रयास तथा समन्वयको अपेक्षा र कर्णाली प्रदेशमा बीमकहरुको उपस्थिति तथा चुनौतीको बारेमा प्रस्तुतिकरण दिएका थिए ।


दर्शन खबर । १२ फाल्गुन २०७९, शुक्रबार