‘घुस खानु आमाको रगत खानुसरह हो’ भन्ने लिङ्देनमाथि लाग्यो घुस लिएको आरोप

फाईल तस्बिर

काठमाण्डौँ । ‘घुस खानु आमाको रगत खानुसरह हो’ भन्ने नारा दिएर निर्वाचन जितेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष, उपप्रधान तथा ऊर्जा मन्त्री राजेन्द्र लिङद्नमाथि घुस लिएको आरोप लागेको छ । मन्त्री लिङ्देनमाथि नेपाल विद्युत प्राधिकरणले निजी क्षेत्रसँग विद्युत खरिद सम्झौता (पीपीए) गर्दा एक अरब घुस लिएको आरोप लागेको हो । लामो समयदेखि रोकिएको प्रवाही नदीमा आधारित जलविद्युत आयोजना (आरओआर) को खरिद बिक्री सम्झौता (पीपीए) २०७९ माघ २४ गतेबाट खुल्ला गरिएको छ । १५ सय मेगावाटबाट लगभग १ अर्ब रुपैयाँ घुस वापत संकलन हुने देखेपछि मन्त्री लिङ्देनसमेत राजी भई सम्झौता खुला गरिएको आरोप उनीमाथि लागेको छ । घुस लिएको भन्दै आलोचना भएपछि मन्त्री लिङ्देनले आफूमाथि लागेको आरोपको बिहीबार सामाजिक सञ्जालमार्फत खण्डन गरेका छन् ।

बिहीबार आफ्नो फेसबुकमा उनले लेखका छन्– ‘केही दिन अघि नेपाल विद्युत प्राधिकरणले निजी क्षेत्रसँग विद्युत खरिद सम्झौता (पीपीए) गर्दा मैले एक अरब रकम लिएको भनि सुनियोजित ढंगबाट गरिएको दुष्प्रचार प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’विद्युत खरिद सम्झौता मात्र नभएर आफ्नो जिम्मेवारीमा रहेको मन्त्रालयमा हुने कुनै पनि निर्णयमा आफूले एक रुपैयाँ पनि हिनामिना नगरेको दाबी गरे । साथै आफूमाथि लागेको आरोपमा कसैले सत्य प्रमाण ल्याएमा आफू झुण्डिन तयार रहेको समेत उल्लेख गरेका छन् ।

यो पनि हेर्नुहोस् ।

एक रूपैयाँ घुस लिएको कसैले प्रमाणित गर्छ भने झुण्डिन तयार छु : लिङ्देन


तपाईको प्रतिक्रिया