सुर्खेत । दैलेखको आठबीस नगरपालिकाको केन्द्र राकम कर्णालीमा ट्रमा सेन्टरसहितको १०० शैय्याको शिक्षण अस्पताल बन्ने भएको छ। आठबीस नगरपालिका र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच भएको सम्झौताअनुसार ट्रमा सेन्टरसहित १०० शैय्याको शिक्षण अस्पताल स्थापनाको प्रक्रिया अघि बढेको प्रतिष्ठानका कुलपति डा। मंगल रावलले बताए। ‘राकम कर्णालीमा १०० शैय्याको शिक्षण अस्पताल निर्माण गरी नागरिकलाई गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य छ,’ उनले भने, ‘कर्णाली प्रदेश सरकार र संघीय सरकारको समन्वयमा शिक्षण अस्पताल निर्माणको प्रक्रिया अघि बढ्नेछ।’ अस्पतालको सम्पूर्ण व्यवस्थापन र सञ्चालनको जिम्मा प्रतिष्ठानले लिने रजिस्ट्रार नृपेन्द्र महतले बताए। ‘प्रतिष्ठानले राकम कर्णालीको आधारभूत अस्पतालका लागि अक्सिजन प्लान्ट प्रदान गरिसकेको छ,’ उनले भने, ‘गैरआवासीय नेपाली संघ (एनआरएनए) बाट प्राप्त अक्सिजन प्लान्ट प्रतिष्ठानले आठबीस नगरपालिकाको आधारभूत अस्पताललाई उपलब्ध गराएको हो।’ राकममा शिक्षण अस्पताल निर्माणका लागि आठबीस नगरपालिका–३ दुई हजार एक सय ३० वर्गमिटर क्षेत्रफलमा जग्गा व्यवस्थापन भइसकेको नगरका प्रमुख तर्कबहादुर बडुवालले बताए।’अस्पताल निर्माणको लागि डिपिआर बनिसकेको छ। अस्पताल निर्माण तथा सञ्चालनका लागि नगरप्रमुखको संयोजकत्वमा समितिसमेत गठन भइसकेको छ,’ उनले भने, ‘नगरपालिकाले राकम कर्णालीस्थित अस्पतालबाट नागरिकलाई स्वास्थ्य सेवा दिइरहेको छ।’ विशेषज्ञ सेवा प्रदान गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले चिकित्सक खटाएको छ।
अस्पतालमा एक्स-रे, भिडियो एक्स-रे, ई सिजी, ल्याबसहित अस्पताल फार्मेसी चलाइरहेको छ। नगरप्रमुख बडुवालका अनुसार विशेषज्ञ सेवा सञ्चालनका लागि अप्रेसन कक्ष र आवश्यक भौतिक सामग्री व्यवस्थापन भएको छ। अक्सिजन प्लान्ट जडानका लागि नगरपालिकाले ट्रस्ट निर्माण, विद्युतीय प्रसारण ट्रान्सफर्मर खरिदमा ३२ लाख पाँच हजार रुपैयाँ खर्च गरेको नगरका जनस्वास्थ्य निरीक्षक देवराज तिमिल्सेनाले जानकारी दिए। हालै जडान भएको अक्सिजन प्लान्ट सोमबार उद्घाटन गरिएको छ। कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, प्रतिनिधिसभा सदस्य सोविता गौतम, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावललगायतको उपस्थितीमा अक्सिजन प्लान्ट उद्घाटन गरिएको हो। अक्सिजन प्लान्ट उद्घाटन गर्दै मन्त्री शाहले कर्णालीमा स्वास्थ्य सुधारका लागि प्रदेश सरकारले प्राथमिकताका साथ काम गर्ने बताए। ‘राकम कर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल निर्माणका लागि प्रदेश सरकार सबै प्रकारको सहयोग गर्न तयार छ,’ मन्त्री शाहले भने। पहिलो पटक राकम पुगेकी प्रतिनिधिसभा सदस्य सोविता गौतमले अब दोस्रो पटक राकम कर्णालीमा आउँदा अस्पताल निर्माण भइसक्ने बताइन्। ‘कर्णालीको सबै खाले समस्या संघीय संसदमा दृश्य वा अदृश्य रूपमा निरन्तर उठाउनेछु,’ उनले भनिन्। राकम कर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल जति सक्दो छिटो निर्माण गर्ने उपकुलपति डा. रावलले बताए। उनले भने, ‘आगामी दुई वर्षभित्रै ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल निर्माण गरेर सञ्चालनमा ल्याइनेछ।


दर्शन खबर । ९ फाल्गुन २०७९, मंगलवार