कुलेन्द्र शाही सुर्खेत । फागुन २५ गते हुने राष्ट्रपति पदको चुनावका लागि भोलि १० गते मतदाता नामावली प्रकाशन हुँदैछ । अर्थात, राष्ट्रपतिको निर्वाचन कार्य कार्यतालिकाको औपचारिक सुरुवात हुन अब एक दिन मात्रै बाँकी छ । तर, दलहरुले राष्ट्रपतिको उम्मेदवारको टुंगो लगाएका छैनन् । कांग्रेस र एमालेको तीव्र लविङमा माओवादीको अडान निर्णायक भईरहेको छ । आफूले भनेकै व्यक्तिलाई राष्ट्रपति बनाउन सत्ता गठबन्धन दल एमाले र विपक्षी नेपाली कांग्रेसका नेताहरू सक्रिय छन् । एमालेले माओवादीसँग पुस १० मा भएको सहमति अनुसार राष्ट्रपति आफूले पाउनुपर्ने दाबी गरिरहेको छ । तर माओवादीले सर्वसम्मत व्यक्ति खोज्नुपर्ने भन्दै आएको छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेसले रोजेकै व्यक्ति राष्ट्रपति भए पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढल्छ कि भन्ने चिन्ता सत्ता पक्षकै नेताहरूमा देखिन् थालेको छ । हुन त एमाले र माओवादीबीच पुस १० मै राष्ट्रपति एमालेले लिने सहमति भएको थियो । तर अहिले परिस्थिति फेरिएकाले सर्वस्वीकार्य व्यक्तिलाई राष्ट्रपति बनाउँदा गठबन्धन सरकारमा कुनै असर नपर्ने माओवादीको दाबी छ । यति बेला आफ्ना दलहरुले आ आफ्नै उम्मेदवार बन्ने दाबी गरेका छन् । केन्द्रका नेताहरु प्रदेशमा आएर विभिन्न धारणा समेत राख्ने गरेका छन् । केन्द्रका नेताहरु प्रदेशमा आएर आफ्नै पार्टीबाट राष्ट्रपति हुने दाबी गर्दछन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्ष कार्यकाल २०७९ फागुन २९ गते सकिदैछ । त्यसको चार दिनअघि राष्ट्रपतिको निर्वाचन हुन लागेको छ । यति बेला राष्ट्रपतिको निर्वाचनकै विषयमा केन्द्रदेखि प्रदेशसम्म चर्चा चलिरहेको छ । विशेषगरी सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एमालेका नेताहरुको भनाईमा एकरुपता नआउँदा नेपाली कांग्रेसका नेताहरुले भने कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्ने दाबी गरिरहेका छन् । केही दिन अघि सुदुरपश्चिम जाने क्रममा सुर्खेत पुगेका उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सत्ता समीकरण परिवर्तनको कुरा तत्काल असम्भव भएको बताएका थिए । उनले सत्तामा भएका अरू दलहरूको आचरणका कारण समीकरणमा केही समस्या आउन सक्ने पनि उल्लेख गरेका थिए । बाहिर आएजस्तो कसैले चाहेर गठबन्धन तोडिने कुरा नभएको बताउँदै उनले तत्कालै सत्ता समीकरण परिवर्तन नहुने राष्ट्रपति चयनका विषयमा यसअघि दलहरूले सरकारको नेतृत्व गर्न माओवादीलाई गरेको विश्वासको आधारमा अघि बढ्नुपर्ने जिकिर गरेका थिए । यस्तै सुर्खेतमा पुगेको नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले अबको राष्ट्रपति कांग्रेसबाट बन्ने बताएका छन् । नेपाली कांग्रेस सुर्खेतले आइतबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री शर्माले कांग्रेस उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुने दाबी गरेका छन् ।
‘राष्ट्रपति कांग्रेसले उम्मेदवार बनाएको व्यक्ति बन्नुहुन्छ, त्यसमा कुनै शङ्का छैन’, उनले भने । महामन्त्री शर्माले संविधानको संरक्षक र कार्यान्वयनको जिम्मेवारीकारुपमा रहेको राष्ट्रपति पद ठूलो पार्टीको हैसियतले कांग्रेसले पाउनु स्वभाविक रहेको बताउँछन् । यति मात्रै होईन उनले वर्तमान सत्ता गठबन्धन धेरै दिन नटिक्ने समेत दाबी गरेका छन् । यस्तै उनले नेपाली कांग्रेस नविनतम तरिकाले अघि बढ्नुपर्ने पनि बताएका छन् । “अब कांग्रेसलाई बदल्नु पर्छ, बदल्छौं र देशभरीबाट बहुमत ल्याई आगामी दिनमा सिंहदरबारको नेतृत्व गर्ने गरी जानुपर्ने मनोविज्ञान आम कार्यकर्ताले बनाउनुपर्छ” महामन्त्री शर्माले भने, नेकपा एमालेले सामाजिक सुरक्षा भत्तालाई हतियार बनाएर मत माग्ने गरेको समेत उनले टिप्पणी गरे । यस्तै पहिलो दल कांग्रेसले सरकार गठन गर्नुपर्ने भए पनि केही त्रुटिका पुनः ब्यूँतिने दाबी समेत गरेका छन् । यस्तै सुर्खेत मात्र नभई दैलेख सम्म पुगेका नेकपा एमालेका सचिव योगेश भट्टराईले गठबन्धन पुस १० गते साँझ टुटे पछि प्रधानमन्त्री दाहाल आफैँ एमालेलाई खोज्दै आएको बताएका थिए । सचिव भट्टराईले गत मंसिर ४ मा भएको निर्वाचनमा नेकपा एमालेलाई हराउन गठबन्धन बनाएर घेराबन्दी गरिएको पनि बताएका थिए ।
उनले एमालेले प्रस्ताव गर्ने राष्ट्रपतिको उम्मेदवार सत्ता गठबन्धनको साझा उम्मेदवार हुने समेत दाबी गरेका छन् । उनले भने, ‘एमालेले प्रस्तावित गरेको उम्मेदवार नै राष्ट्रपतिको उम्मेदवार हुन्छ । र, गठबन्धनभित्र रहेका दलहरूको साझा उम्मेदवार हुनेछ ।’ पुस १० गतेको भौतिक अवस्था बदलिएको छैन । यस्तै सचिव भट्टराईले दैलेख पुगेर एमालेको कारण कुनै हालतमा पनि गठबन्धन नटुट्ने बताएका छन् । उनले नेपाली कांग्रेसको उम्मेदवारलाई माओवादीले समर्थन गर्ने कुरा नैतिकताले पनि नदिने बताएका छन् । एमालेले अहिलेको गठबन्धन जोगाउन चाहेपनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्थिर बनेको बताए । सत्ता गठबन्धन टुटाउन एमालेले कुनै बिजनेस नगर्ने उनको भनाइ छ । उनले सत्ता गठबन्धन टुटाउन एमालेले पहल नगरे पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल अस्थिर रहेकाले भरोसा नभएको बताएका छन् । ‘एमालेको कारण कुनै हालतमा यो गठबन्धन टुट्दैन् । तर, माओवादी केन्द्रका अध्यक्ष अस्थिर हुनुहुन्छ । अस्थिर राजनितीले हामी कसैलाई फाईदा हुँदैन,’ उनले भने । साथै, सत्ता गठबन्धनकै साझा उम्मेदवार राष्ट्रपति बन्ने उनको दाबी छ ।


दर्शन खबर । ९ फाल्गुन २०७९, मंगलवार