सुर्खेत । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५० औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरुपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरु गरिएको हो । विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइ सराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो ।
यस्तै कर्णाली प्रदेशका प्रमुख तिलक परीयारले ग्याल्पो ल्होसार पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा शुभकामना व्यक्त गरेका छन् । परीयारले मंगलवार एक शुभकामना सन्देश जारी गर्दै देशमा मनाईने यस्ता विभिन्न चाडपर्व र संस्कृतिहरुको संरक्षण तथा सम्वद्र्धनबाट विश्व सामु नेपाल र नेपालीको पहिचान सदा कायम राख्न सकिने भएकाले यसतर्फ सबैको ध्यान जान आवश्यक रहेको बताएका छन् । प्रमुख परीयारले ग्याल्पो ल्होसार नेपाली संस्कृतिकै एक महत्वपूर्ण अङ्ग भएको उल्लेख गर्दै यस्ता चाडपर्वले विविध संस्कृति अँगालेको नेपालीहरुका बीचमा सहिष्णुता, पारस्परिक सद्भाव र सहयोग अभिवृद्धि हुनुका साथै राष्ट्रिय एकतालाई सुदृढ गर्न सघाउ पुग्नेछ भन्नेमा विश्वास व्यक्त गरेका छन् । उनले हिमाल आरोहण तथा पर्यटनको माध्यमबाट विश्वलाई नेपाल चिनाउने पहिलो शक्ति शेर्पा रहेको शुभकामना सन्देशमा उल्लेख गरीएको छ ।


दर्शन खबर । ९ फाल्गुन २०७९, मंगलवार