सल्यान। नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले मिडियालाई मोलमोलाइको रुपमा नहेर्न आग्रह गरेका छन् । सोमबार नेपाल पत्रकार महासंघ सल्यानले आयोजना गरेको सल्यानको पत्रकारिताको अवस्था र चुनौती विषयक छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सञ्चार क्षेत्रले अझै संघीयताको अनुभूति गर्न नपाएको बताउँदै सञ्चार सम्बन्धी कानुनका कारण प्रदेश र स्थानीय तहमा सञ्चार माध्यम र पत्रकारिताका क्षेत्रको विकासका लागि राज्यले अभिभावकको भूमिका खेल्न नसकेको बताए । उनले आम सञ्चार प्रतिष्ठान बनाउनका लागि महासंघले बर्षौ देखि आवाज उठाउँदै आएको, र सरकारको बजेट भाषणमा समेटिए पनि अहिले सम्म गठन हुन नसकेको बताए ।
उनले नागरिकका सूचना दिने काम सञ्चार माध्यामको भएकाले विकासका नाममा, भौतिक पूर्वाधार निर्माण गर्नु मात्र नभएर सञ्चार क्षेत्रका दिगो विकासका लागि राज्यले लगानी गर्न आवश्यक रहेको बताए । सञ्चार क्षेत्रको लागि भनेर छुट्ट्याएको बजेट मिडियामै खर्च गर्नुपर्ने, र मिडियालाई मोलमोलाइको रुपमा नहेर्न आग्रह समेत गरे ।अध्यक्ष पोख्रलले पत्रकाहरुका विषयमा पनि समाजमा विभिन्न प्रश्न उठेकाले पत्रकार पेसालाई व्यवसायी र मर्यादित बनाउनको लागि महासंघ प्रतिबद्ध भएको भन्दै शुद्धीकरण अभियान सञ्चालन गरिने प्रतिवद्धता समेत जनाए । ।


दर्शन खबर । ८ फाल्गुन २०७९, सोमबार