तातोपानी गाउँपालिकामा औद्योगिक ग्राम स्थापना हुने

जुम्ला। तातोपानी गाउँपालिकामा औद्योगिक ग्राम स्थापना हुने भएको छ । पालिकाको वडा नम्बर ४ मा औद्योगिक ग्राम स्थापना हुने भएको हो । स्थानीय स्रोत साधनको सदुपयोग गर्दै स्थानीय तहमा नै रोजगारी सिर्जना, जीविकोपार्जन र गरिबी निवारणका लागि औद्योगिक ग्रामको भूमिका महत्वपूर्ण हुने गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताएका छन् । सरकारले औद्योगिक ग्राम स्थापना गरी युवाहरुलाई रोजगारी तथा आत्मनिर्भर बनाउने योजना अनुसार मुलुकभरका आठ वटा स्थानीय तहमध्ये जुम्लाको तातोपानी गाउँपालिका ४ छनोटमा परेको अध्यक्ष चौलागाईले मध्यान्हलाई जानकारी दिए । आवश्यक निश्चित मापदण्ड तय गरेर नेपाल सरकार र उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले २०७९ भाद्र १० गते औद्योगिक ग्राम स्थापनाको लागि सार्वजनिक सूचना जारी गरेको थियो ।

मन्त्रालयको सूचनाको आधारमा चाहिने सबै प्रक्रिया पूरा गरी गाउँ कार्यापालिकाको निर्णयबाट वडा नंं. ४ लाई छनौट गरि पालिकाले औद्योगिक ग्राम स्थापनाका लागि मन्त्रालयमा प्रस्ताव पेश गरेको वडाध्यक्ष अमर रोकायाले बताएका छन् । सो वडाको रातेखोलामा रहेको करिब १५ हजार ८८२ वर्गमिटर क्षेत्रफलमा रहेको सार्वजनिक जग्गामा औद्योगिक ग्राम स्थापनाका लागि नेपाल सरकारकोे मन्त्री परिषद्को यही फागुन ४ को निर्णयबाट स्वीकृत भई पारित भएको वडाध्यक्ष रोकायाले जानकारी दिएका छन् । स्थानीय स्रोत, कच्चा पदार्थ, सीप र साधनको परिचालन गरी यहाँका स्थानीयवासीको रोजगारी सिर्जनामा टेवा पुग्ने वडाध्यक्ष रोकायाले बताए । नेपाल सरकारको मन्त्रिपरिषद बैठकमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले औद्योगिक ग्राम निर्माणको बारेमा प्रस्ताव राखेपछि सरकारको तर्फबाट स्वीकृत भएको हो ।

तपाईको प्रतिक्रिया