राष्ट्रपतिमा कांग्रेस र एमालेको दौडधुप, प्रचण्डकै आस

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको आइतबार केन्द्रीय कार्यकारिणी समितिको बैठक थियो । उक्त बैठकमा राष्ट्रपतिरउपराष्ट्रपति निर्वाचनबारे आन्तरिक छलफल गरेको छ । राष्ट्रपतिरउपराष्ट्रपति निर्वाचनबारे ठोस निर्णय गर्ने बेला नभए पनि त्यस सम्बन्धमा बैठकमा छलफल गरिएको पार्टीका प्रवक्ता प्रकाश अधिकारीले जानकारी दिए । उनी भन्छन्, ‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनबारे पार्टीको ध्यानाकर्षण भएको छ । पार्टीले यसमा सोचिराखेको छ । त्यसबारेमा अहिले औपचारिक निर्णय भइसकेको छैन । किनभने कुनै फिचर क्लियर भइसकेको छैन । कुनै पनि उम्मेदवारहरूको बारेमा टुंगो पनि लागिसकेको छैन ।’ अर्थात, जसपाले भने जस्तै राष्ट्रपतिबारे सरगर्मी जति बढाए पनि राष्ट्रपतिको उम्मेदवारको टुंगो लागेको छैन । राष्ट्रपति निर्वाचनका सन्दर्भमा सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र निर्णायक छ । यसकारण नेपाली कांग्रेस र नेकपा एमालेले फेरि प्रचण्डकै आश राखेका छन् । प्रचण्डको ‘मुभ’मा राष्ट्रपति निर्वाचन र आगामी राजनीतिक कोर्स अगाडि बढ्नेमा उनीहरु ढुक्क छन् । चुनावी अंकगणितमा कांग्रेस र एमाले हाराहारीमा छन् । माओवादी केन्द्र तेस्रोमा छ । यसकारण माओवादी निर्णायक भएको हो । राष्ट्रिय सभामा १० र प्रतिनिधिसभामा ८९ सांसद रहेको कांग्रेसको मतभार ७,८२१ छ । प्रदेश सभातर्फ १७५ सदस्य जितेको कांग्रेसको मतभार ८,४०० हुन्छ । संघ र प्रदेश दुवैतर्फ जोड्दा कांग्रेसको कूल मतभार १६ हजार २२१ पुग्छ । एमाले कांग्रेसकै हाराहारीमा छ । दुवै सभातर्फ जोड्दा १५ हजार २८१ मतभार रहेको एमालेको प्रतिनिधिसभामा ७८ र राष्ट्रिय सभामा अध्यक्षसहित १७ सांसद छन् ।

जसको मतभार ७,५०५ हुन्छ । प्रदेश सभातर्फ देशभर १६२ सिट जितेको एमालेको मतभार ७,७७६ छ । राष्ट्रिय सभामा १६ सांसद रहेको माओवादी केन्द्रको प्रतिनिधिसभामा ३२ सिट छ । प्रदेश सभातर्फ उसले देशभर ८२ सिट जितेको छ । संघमा ३,७९२ मतभार रहेको माओवादी केन्द्रको प्रदेशसभा तर्फ ३,९३६ मतभार पुग्छ । दुवैतिर जोड्दा माओवादीको कूल मतभार ७,७२८ हुन आउँछ । तीनवटै सभाको कूल मतभार जोड्दा एकीकृत समाजवादीको दुई हजार ४७८, जनता समाजवादी पार्टी (जसपा) को दुई हजार ९७ मतभार छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभामा २० सिट जितेको थियो । नागरिकता विवादमा रास्वपा सभापति रवि लामिछानेको पद गएका कारण उक्त दलसँग अहिले १९ सिट मात्रै छ । यसरी रास्वपाको मतभार १,५०१ मा झरेको छ । प्रदेश सभा र प्रतिनिधिसभा समेत जोड्दा जनमत पार्टीको १,२४२, लोसपाको ८२७, नागरिक उन्मुक्ति पार्टीको ७६५, नेमकिपाको २२३, राष्ट्रिय जनमोर्चाको १५८, हाम्रो नेपाली पार्टीको ९६ र स्वतन्त्र मतभार १२८७ छ । संघीय संसदका ३३४ जनाले राष्ट्रपति र उपराष्ट्रपतिका लागि मतदान गर्छन् । जसको मतभार २६ हजार ३ सय ८६ हुन आउँछ । सातवटै प्रदेश सभामा ५५० सदस्य छन् । उनीहरुको कूल मतभार २६ हजार ४०० सय हुन आउँछ । राष्ट्रपति निर्वाचनमा कूल ८८४ जनाले मतदान गर्नेछन् । उनीहरूको जम्मा मतभार ५२ हजार ७ सय ८६ हुन्छ । संविधानको धारा ६२ (३) अनुसार राष्ट्रपति निर्वाचनमा विजयी हुन ५१ प्रतिशत अर्थात, कम्तीमा २६ हजार ३ सय ९४ मत ल्याउनुपर्ने हुन्छ । यसकारण जित्न कांग्रेस र एमालेलाई माओवादी केन्द्रकै भर छ । यही फागुन २५ गते राष्ट्रपति र चैत्र ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ ।

 

तपाईको प्रतिक्रिया